संसद् सञ्चालनको गाँठो फुकाउन बानेश्वरमा सघन वार्ता


काठमाडौं – सभामुख देवराज घिमिरे र प्रमुख पाँच राजनीतिक दलका प्रमुख सचेतकबिच बैठक जारी छ । संसद् भवन नयाँबानेश्वरमा बसेको बैठकमा भिजिट भिसा प्रकरणमा रास्वपा र राप्रपाको अवरोध, सदन सञ्चालनलगायत विषयमा छलफल भइरहेको छ।

सोमबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकको अवरोध हटाउने विषयमा पनि छलफल हुने बताइएको छ । भिजिट भिसाम प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरी छानबिन समितिको माग गर्दै रास्वपा र राप्रपाले जेठ १३ गतेदेखि संसद्मा अवरोध गर्दै आएका छन् ।

यसबीचमा सरकारको नीति तथा कार्यक्रम र बजेट भाषणमा मात्र रास्वपा र राप्रपाले सदन निर्वाध ढंगले सञ्चालन गर्न सहयोग गरेका थिए । त्यसपछि संसदमा आकस्मिक समयमा आफ्नो धारणा राख्ने र बैठक बहिष्कार गरेर हिँड्ने गरेका छन् । रास्वपाले सोमबारको बैठक पनि बहिष्कार गर्ने रणनीति बनाएको छ ।

सोमबारको प्रतिनिधिसभा बैठकमा कुलिङ पिरियडसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदन पेस हुने छ । त्यसका लागि बिहानैदेखि प्रतिवेदन लेखनको काम भइरहेको छ ।