बागमतीमा नयाँ मुख्यमन्त्रीका लागि बानियाँले गरे दाबी पेस


काठमाडौं । बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दावी पेस गरेका छन् ।

कांग्रेस र एमालेका तर्फबाट संयुक्त रूपमा मुख्यमन्त्री पदमा बानियाँले दाबी पेस गरेका हुन् ।

प्रदेश प्रमुखसमक्ष पेस गरिएको दावीमा ११० सदस्यीय प्रदेश सभामा कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदको समर्थन रहेको उल्लेख छ ।

संविधानको धारा १६८ (२) अनुसार बहुमत प्राप्त गर्ने सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने प्रावधानअनुसार उनीहरूले दाबी पेस गरेका हुन् ।

दावी पेस गरिएको निवेदनमा कांग्रेस संसदीय दलका नेता बानियाँ र एमाले संसदीय दलका नेता जगन्नाथ थापाद्वारा हस्ताक्षर गरिएको छ। अब प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आजै बानियाँलाई मुख्यमन्त्री नियुक्त गर्नेछन् ।