सुशीलले सके ५६ दिनमा ‘परिवर्तन’, एक्सनमा भरपुर मिहिनेत



फिल्म ‘परिवर्तन’को छायांकन ५६ दिन लगाएर सकिएको छ । फिल्मका निर्माता दीपक सिवाकोटीका अनुसार, २ गीत बाहेक अन्य दृश्यको छायांकन सकिएको छ । यो फिल्मको छायांकन झापाका विभिन्न स्थानमा गरिएको छ । यस्तै, मेचीनगर नगरपालिका र विराटनगरमा पनि फिल्म खिचिएको निर्माताको भनाई छ ।

विजय केरुङको निर्देशनमा तयार भइरहेको यो फिल्ममा सुशील श्रेष्ठ, अञ्जना बराइली, गौतम तिवारी, वुद्दि तामाङ, करिश्मा मानन्धर, आशा पौडेल, सुवास मेचे, पुकार भट्टराई, हेमन्त बुढाथोकी लगायतका कलाकारहरुको अभिनय छ ।

यो फिल्मका लागि नायक सुशिलले एक्सनमा निकै मिहिनेत गरेका छन् । आफूले काम गरेका फिल्ममध्ये यो फिल्ममा नै सबैभन्दा धेरै एक्सनका दृश्य रहेको सुशीलको भनाई छ ।

दिब्यासी फिल्मस् प्रा.लिको ब्यानरमा निर्माण भएको यो फिल्मले सिमाना सुरक्षा, भ्रष्टाचारको जालो, गरिबी, दुःखको कथा भन्छ ।

शिवम् अधिकारीको पटकथा तथा संवाद रहेको फिल्ममा शिव ढकालको छायांकन, बन्दे प्रसादको सम्पादन, श्री श्रेष्ठको एक्सन छ ।

फिल्मका दुई गीतको छायांकन सकेपछि मात्र प्रि–प्रोडक्सनको काम सकिने निर्माणपक्षको भनाई छ । सुशीलले साउनको २९ गतेबाट फिल्म ‘राम नाम सत्य’को छायांकन सुरु गर्नेछन् ।