सात वर्षपछि चीन जाँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी


काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सात वर्षपछि चीन भ्रमणमा जाने भएका छन् । एससीओ शिखर सम्मेलनमा भाग लिन उनी चीन जाने भएका हुन् । मोदीको भ्रमण अगस्ट ३१ र सेप्टेम्बर १ मा हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । २०२० मा गलवान उपत्यकामा भारत–चीन सैन्य झडपपछि यो मोदीको पहिलो चीन भ्रमण हुनेछ।

मोदीले चिनियाँ राष्ट्रपति सी जिन पिङसँग भेटवार्ता गर्नेछन् । मोदीले यसअघि सन् २०१८ मा त्यहाँ भ्रमण गरेका थिए। यो उनको चीनको छैटौं भ्रमण हुनेछ। गत महिना विदेशमन्त्री एस जयशंकरले चीनको भ्रमण गरेका थिए, जहाँ उनले राष्ट्रपति सी जिनपिङ र विदेशमन्त्री वाङ यीलाई भेटेका थिए।

जयशंकरले जलस्रोत तथ्यांक साझा गर्ने, व्यापार प्रतिबन्ध, एलएसीमा तनाव कम गर्ने र आतंकवाद र अतिवादविरुद्ध कडा अडान लिने जस्ता मुद्दाहरूमा छलफल गरेका थिए। सो बैठकले मोदीको चीन भ्रमणको लागि रोडम्याप तयार पारेको बताइन्छ । त्यसअघि मोदी अगस्ट ३० मा जापानको भ्रमणमा जाने भएका छन्। भारत–जापान शिखर सम्मेलनमा भाग लिन उनी जाने भएका हुन् ।