एक वर्षअघि राष्ट्रपति जिताउन लागेका मोदीलाई ट्रम्प घाँडो बन्दै


काठमाडौं । भारत र अमेरिका सम्बन्ध यतिबेला कठिन मोडमा पुगेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि २५ प्रतिशतको थप कर लगाएका छन्। नयाँ महसुल पहिले नै लागू रहेको २५ प्रतिशत महसुलमा थपिनेछ। योसँगै अब कुल ५० प्रतिशत हुनेछ। जसलाई लिएर भारत निकै आक्रोशित देखिएको छ ।

ट्रम्पद्वारा हस्ताक्षर गरिएको कार्यकारी आदेशअनुसार थप शुल्क आदेश जारी भएको मितिदेखि २१ दिनपछि लागू हुनेछन्। ट्रम्पले थप कर लगाएपछि भारतको विदेश मन्त्रालयले ‘यो कार्य अनुचित, अप्रत्याशित र तर्कहीन’रहेको टिप्पणी गरेको छ ।

भारत सरकारले हाल प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रूसी तेल आयात गरिरहेको भन्दै त्यसकै आधारमा अमेरिकाले भारतबाट आउने सबै उत्पादनमा २५ प्रतिशत थप शुल्क लगाउने निर्णय गरेको हो। भारतले प्रतिक्रिया दिँदै भनेको छ,‘हालैका समयमा अमेरिकाले रुसबाट भारतको तेल आयातलाई लक्षित गरेको छ।

भारतले अमेरिकाको निर्णयलाई दुर्भाग्यपूर्ण भनेको छ। ‘अमेरिकाले भारतमाथि थप कर लगाउने निर्णय गरेको छ। जबकि धेरै अन्य देशहरूले आफ्नो राष्ट्रिय हितमा त्यही काम गरिरहेका छन्। हामी फेरि एकपटक दोहोर्याउँछौं कि यो कार्य अनुचित, अव्यावहारिक र तर्कहीन छ। भारतले आफ्नो राष्ट्रिय हितको रक्षा गर्न सबै आवश्यक कदम चाल्नेछ,’ भारतले भनेको छ ।

एक वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्रम्पलाई राष्ट्रपतिमा जिताउन निकै जोडबल गरेका थिए । मोदीले डेमोक्र्याट उम्मेदवार कमला ह्यारिसलाई भन्दा रिपब्लिकन उम्मेदवार ट्रम्पलाई सहयोग गरेको थियो । अहिले तिनै ट्रम्प मोदीका लागि घाँडो भएका छन् । यो घटनाले मोदीको लोकप्रियता भारतमै पनि घट्दो क्रममा रहेको छ ।