काठमाडौं – नेसपा नयाँ शक्तिका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रवि लामिछानेसँग भेट गरेका छन् । भट्टराईले बिहीबार बिहान भैरहवा कारागार पुगेर रास्वपाका रविलाई भेटेका हुन् ।
भेटमा वैकल्पिक शक्ति, सुशासन र समृद्धिका विषयमा कुराकानी भएको भट्टराईले बताएका छन् । भेटपछि उनले आफ्नो रास्वपाका सभापति लामिछानेप्रति सदभाव रहेकोले भेट्न आएकोसमेत बताए ।
भट्टराईले अदालतले गरेको फैसलामा टिप्पणी नगर्ने, तर अहिले लामिछानेमाथिको अभियोग पुष्टि नभएको बताए । लामिछाने जनताको प्रतिनिधि भएको नाताले कतै भागेर जाने सम्भावना नभएको उनको भनाइ छ ।
बाबुरामले यसअघि रास्वपाको केन्द्रीय कार्यालय पुगेर रविको पक्षमा हस्ताक्षर गरेका थिए । उनले राज्यले रविमाथि प्रतिशोध साँध्न नहुने बताएका थिए । रविले सोमबार मात्र बैंक जमानतमा छाड्न जिल्ला अदालत रुपन्देहीमा निवेदन दिएका छन् । उनी सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि भैरहवा कारागारमा छन् । उच्च अदालत बुटवलले थुनामै बसेर मुद्दा लड्न रविलाई आदेश सुनाएको थियो ।














प्रतिक्रिया