काठमाडौं – सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापा भ्रष्टाचारी ठहर भएपछि उनकै जीवनीमा आधारित ‘मेयर’ चलचित्रको भविष्य अन्धकार भएको छ ।
थापासहित तीनजनाविरुद्ध बुधबार विशेष अदालतले भ्रष्टाचार गरेको ठहर गरेपछि उनको बायोपिक चलचित्र ‘मेयर’को भविष्य अन्धकार बनेको हो । चलचित्रमा थापालाई हिरोको रूपमा देखाइएको थियो । तर अहिले उनी आफैं खलनायकका रूपमा परिचित भएका छन् । जसले गर्दा करोडौं रुपैयाँ खर्च गरेर बनाइएको चलचित्र डिब्बा बन्द हुने भएको हो ।
निर्देशक दीपेन्द्र के खनालले शीर्ष भूमिकामा खगेन्द्र लामिछानेलाई लिएर चलचित्र छायांकन गरेका थिए । अधिकांश दृश्य सर्लाहीमै खिचिएको थियो । छायांकन सकिएर चलचित्र पोस्ट प्रोडक्सनको चरणमा थियो । चलचित्रको निर्मातामा सागर मैनाली र अरविसा थापा थिए । जसको जीवनमाथि चलचित्र बनेको छ, सोही व्यक्तिलाई भ्रष्टाचार मुद्दामा दोषी ठहरपछि निर्माण पक्षले प्रतिक्रियाविहीन बनेको छ ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले ३० करोड २९ लाख ३४ हजार ९७ रुपैयाँ बराबरको नदीजन्य पदार्थमा हानी नोक्सानी गरेको ठहर गरेको हो । अदालतले एक वर्ष कैद सजाय र बिगो मागबमोजिमको तीन करोड ४५ लाख २२ हजार ३८७ रुपैयाँ जरिवाना तोकेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो दुई वर्षयता सर्लाहीको बागमती नगरपालिका–४ र १२ मा निर्मित भरत तालमाथि अनुसन्धान गरेको थियो । जसमा उनी भ्रष्टाचारी ठहर भएका हुन् । थापा माओवादी सर्लाहीका प्रभावशाली नेता हुन् । दुई दुईपटक मेयर बनेका उनी आगामी निर्वाचनमा सर्लाही ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने तयारीमा थिए । अब उनको राजनीतिक भविष्यमाथि नै कालो बादल मडारिएको छ ।














प्रतिक्रिया