विपिन जोशीका आमा र बहिनी इजरायल प्रस्थान


काठमाडौं । हमास समूहको अपहरणपछि बेपत्ता विपिन जोशीको परिवार सोमबार इजरायल प्रस्थान गरेको छ । इजरायल सरकारको निमन्त्रणामा विपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी त्यसतर्फ लागेका हुन् । इजरायली राजदूत श्मुलिक ए बासले सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परिवारलाई बिदाइ गरेका छन् । २०८० असोज २३ मा हमास समूहले इजरायलमा आक्रमण गर्दै विपिनलाई अपहरण गरेर बन्दी बनाएको थियो ।

त्यसयता उनको अवस्था अज्ञात छ । इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितका अनुसार विपिनका परिवार १० दिन इजरायलमा रहनेछन् । उनीहरूले विपिन अपहरणमा परेको तथा १० नेपालीले ज्यान गुमाएको इजरायलको दक्षिण क्षेत्र आलुमिम किबुज भ्रमण गर्ने र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलगायत उच्च अधिकारीसॅग भेट गर्ने कार्यक्रम छ ।

विपिनका आमा र बहिनीलाई संयुक्त राष्ट्रसंघमा समेत लैजाले इजरायलको तयारी छ । जसले हमास समूहलाई अन्तर्राष्ट्रिय दबाब सिर्जना होस् भन्ने इजरायलको चाहना छ । दुई वर्षअघि हमासको आतंककारी हमलामा घोडाघोडी– ४ कैलालीका नारायणप्रसाद न्यौपाने, जयपृथ्वी– ६ बझाङका गणेशकुमार नेपाली, बौनियाँ– ३ कैलालीका आशिष चौधरी, लेकम– ५ दार्चुलाका दीपेशराज बिष्ट, पचनाली– ३ डोटीका राजन फुलारा, लामिखाल– ८ डोटीका पदम थापा, शारदा– ३ सल्यानका प्रवेश भण्डारी, मालिकार्जुन– ४ दार्चुलाका लोकेन्द्रसिंह धामी, सपही– ६ धनुषाका आनन्द साह र मधुवन– १ सुनसरीका राजेशकुमार स्वर्णकारको मृत्यु भएको थियो ।