“कश्यप” मार्फत टिकटकर आभा ढुंगानाको डेब्यु पक्का, रिद्वी खत्री पनि अडिसनबाट छनोट


काठमाडौं — फिल्म ‘कश्यप’ मा टिकटक स्टार आभा ढुंगाना नेपाली रजतपटमा डेब्यु गर्न लागेकी छन्। निर्देशक दिनेश जी खड्काका अनुसार, कथाको मागअनुसार नयाँ अनुहारलाई अवसर दिन खोजिएको हो र आभालाई स्क्रिन–टेस्ट र परफर्मेन्स मूल्यांकनपछि फाइनल गरिएको हो।

आभाले यस फिल्मका लागि एक्सन दृश्यको विशेष प्रशिक्षण लिइरहेकी छन्, जसले उनको भूमिकालाई थप दमदार बनाउने अपेक्षा गरिएको छ।

यसै फिल्ममार्फत बालकलाकार रिद्धी खत्री पनि डेब्यु गर्न लागेकी छन्। अडिसनमार्फत चयन भएकी रिद्धीले धेरै प्रतिस्पर्धीलाई पछि पार्दै महत्वपूर्ण पात्रको भूमिका पाएकी हुन्। निर्माण पक्षको विश्वास अनुसार, उनको अभिनयले फिल्मलाई नयाँ आयाम दिनेछ।

आभा ढुंगानाले भनिन्, “फिल्मको कथा, गीत–संगीत र सम्पूर्ण पक्षलाई उत्कृष्ट बनाउन निर्माण टोलीले अत्यन्तै मेहनत गरिरहेको छ। मलाई विश्वास छ, ‘कश्यप’ले दर्शकहरूलाई मनोरञ्जन मात्र होइन, राम्रो सन्देश पनि दिनेछ।”

यसअघि निर्माण पक्षले एक्सन हिरो सविन श्रेष्ठलाई फिचर गरेको फस्टलुक पोस्टर सार्वजनिक गरिसकेको छ, जसले फिल्मप्रति दर्शकमाझ उत्सुकता बढाएको छ। एक्सन, प्रेम र संगीतको उत्कृष्ट मिश्रणसहितको यो फिल्मको छायांकन चाँडै सुरु हुने बताइएको छ।