के रविलाई राखिएको कोठामा एसी जडान थियो ?


काठमाडौं । केही समययता देशको राजनीतिको केन्द्रविन्दु रास्वपा सभापति रवि लामिछाने बनेका छन् । रविलाई राखिएको कोठाबारे नयाँ पत्रिका र अन्नपूर्ण पोस्टले ठीक विपरीतका समाचार प्रकाशित गरेपछि सबैको ध्यान त्यसतर्फ खिचिएको हो ।

नयाँ पत्रिकाले रविलाई गोलघरमा राखिएको जस्तो गरी समाचार प्रकाशन गरेको थियो । अन्नपूर्ण पोस्टले रविको कोठामा एसी जडान भएको, साँझमा बाहिरफेर घुमफिर गर्ने गरेको समाचार लेखेको थियो । जसकारण भैरहवा कारागार प्रशासन निकै दबाबमा परेको थियो ।

दुवै दैनिकमा उल्लेख भएका समाचारका पेटबोली आंशिक सत्य रहेको देखिएको छ । रविको न्यूनतम मानवअधिकारको हनन नभएको राष्ट्रिय मानव अधिकार आयोगको टोलीले सोमबार गरेको एक घन्टाको अनुगमन निरीक्षणमा पुष्टि भएको छ । अर्कोतर्फ रवि लामिछानेलाई एसीसहितको सुविधा दिइएको बारे भने विवाद देखिएको छ । रवि वातानुकूलित उपकरणसहित कोठामा बस्ने गरेको र झ्यालमा प्लाई ठोक्नुको कारण एसी रहेको समाचार सार्वजनिक भएको छ ।

भैरहवा कारागारको ब्लक नम्बर चार जहाँ रविलाई राखिएको छ, भवनको छानोमा राखिएको एसीको आउटडोर शनिवार मध्यरातमा हटाइएको दाबीसहितका समाचार आइरहेका छन् ।

मानव अधिकार आयोगको टोली जाँदा एसी नभएको पाइयो । टोलीले रविको कोठामा दुईवटा पंखा रहेको जनाएको छ । इन्सेक रुपन्देहीकी अध्यक्ष रिमा बिसीले कोठामा एसी नरहेको, तर कोठामा एउटा प्वाल रहेको बताएकी छन्। जसलाई एसीको पाइपको लागि प्रयोग गरिएको दाबी गरिएको छ ।

जेलर सुरेश भण्डारीले रातारात एसी हटाउन लगाए पनि एसी खरिदकर्ता र जडान गर्ने दातृ निकायबारे केही दिनभित्रै सत्य तथ्य बाहिर आउने बताइएको छ । रविलाई उनकै इच्छाअनुसार राम्रो भातभान्साको सुविधा रहेको पाइएको छ । जबकि जेलका अन्य कैदीबन्दीले त्यो सुविधा पाएका छैनन् ।