तीज नआएको जस्तो लाग्दै थियो, आयो है विष्णु माझीको यस वर्षको तीज गीत


गायिका विष्णु माझीले यस वर्षको तीजका लागि नयाँ गीत ‘नराउरी म बोल’ सार्वजनिक गरेकी छन्। १४ मिनेट लामो यस गीतमा उनका पति सुन्दरमणी अधिकारीको शब्द तथा संगीत छ भने ललिता पौडेलको अभिनय रहेको छ। अधिकारीकै निर्देशन र मौसम हिमालीको कोरियोग्राफीमा तयार गरिएको भिडियोले छोरा–छोरीबीचको भेदभाव र समाजमा महिलाले भोग्ने पीडाको कथा प्रस्तुत गरेको छ।

वर्षमा एकपटक मात्र सार्वजनिक हुने विष्णु माझीको गीतको दर्शकमाझ विशेष प्रतीक्षा रहन्छ। गीत रिलिजसँगै युट्युबमा भ्यूजको वर्षा भएको छ र टिकटकसहित सामाजिक सञ्जालमा पनि व्यापक चर्चा पाएको छ। कतिपयले यो वर्ष पनि गीत दमदार रहेको प्रतिक्रिया दिएका छन् भने केहीले भने अघिल्ला वर्षको जस्तो प्रभाव नपरेको बताएका छन्। तर, तीजको माहोलमा विष्णु माझीको गीत फेरि एकपटक चर्चाको केन्द्रमा आएको छ।