रुपन्देही ३ मा बालेनका सल्लाहकार ओमप्रकाश अर्याल उठ्ने चर्चा


काठमाडौं । आगामी कात्तिक १७ गते रुपन्देही ३ मा हुन गइरहेको उपनिर्वाचनलाई सबै दलले प्रतिष्ठाको विषय बनाएका छन् । ०८४ को निर्वाचनको मिनी जनमत संग्रहका रूपमा यो उपनिर्वाचनलाई लिइएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बोहराको निधन भएसँगै रिक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका लागि दलहरूले तयारी थालिसकेका छन्।

एमालेले खिमलाल भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। कांग्रेस, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलहरूले पनि गृहकार्यमा छन् । सात मधेसकेन्द्रित दलहरू सङ्घीय लोकतान्त्रिक मोर्चा नै बनाएर उपनिर्वाचनमा होमिएका छन्। मोर्चाको तर्फबाट नागरिक उन्मुक्ति पार्टीले उम्मेदवार उठाउँदैछ। तर सिके राउत नेतृत्वको जनमत पार्टीले आफ्नै उम्मेदवार उठाउने निर्णय गरेको छ ।

रुपन्देही ३ मा काठमाडौं महानगरपालिकाका कानुनी सल्लाहकार ओमप्रकाश अर्यालले पनि स्वतन्त्र रूपमा उम्मेदवारी दिने चर्चा चल्न थालेको छ। अधिवक्ता अर्याल काठमाडौंका मेयर बालेन साहका कानुनी सल्लाहकार हुन् । स्रोतका अनुसार आफ्नो उम्मेदवारीबारे अर्याल अहिले आफू निकटस्थहरूसँग छलफलमा छन्।

पछिल्लो स्थानीय तहको निर्वाचनमा अनपेक्षित रूपमा काठमाडौं महानगरपालिका प्रमुख निर्वाचित बनेका बालेन त्यसयता त्यति मुखर देखिँदैनन्, तर राष्ट्रिय राजनीतिमा उदाउन रणनीति बनाइरहेको चर्चा हुने गर्छ। त्यसैले बालेनले अर्याललाई उम्मेदवार बनाउन लागेको बुझिएको छ। यसअघि बालेनका सल्लाहकार सन्तोष गिरीले उम्मेदवारी दिने चर्चा चलेको थियो ।