काठमाडौं । आफूलाई राष्ट्रिय गीतको रचनाकार व्याकुल माइला (प्रदीपकुमार राई) भन्दै ठग्दै हिँड्ने मिलन राई पक्राउ परेका छन् । व्याकुल माइलाका नाममा प्रकाशित केही पुस्तकको भुक्तानी लिन बिहीबार इटहरी उपमहानगरपालिका आएका बेला उनलाई प्रहरीले पक्राउ गरेको हो ।
उदयपुरको बेल्टार घर भएका राईलाई यसअघि पनि नक्कली व्याकुल माइला भई ठग्दै हिँडेको सूचनाका आधारमा प्रहरीले पक्राउ गरी यस्ता गतिविधि नगर्ने सर्तमा छाडेको थियो । इटहरी उपमहानगरपालिकाले निवेदन दिएपछि राईलाई म्याद थपका लागि इनरुवा लगिने प्रहरीले जनाएको छ ।
मिलन राईले राष्ट्रिय गीतका सर्जक प्रदीपकुमार राई अर्थात् व्याकुल माइलाविरुद्ध आफू सक्कली व्याकुल माइला रहेको र गीतको सिर्जना पनि आफैले गरेको भन्दै राष्ट्रपति कार्यालयसम्म उजुरीसमेत हालेका थिए । उनले सात महिनाअघि पनि सभामुख देवराज घिमिरेलाई समेत सक्कली सर्जक व्याकुल माइला आफू भएको भन्दै निवेदन दिएका थिए । उनले उजुरीमा व्याकुल माईलाका नाममा राज्यले मासिक रूपमा दिँदै आएको सेवासुविधा आफूलाई दिनुपर्ने माग उल्लेख गरेको बुझिएको छ । उनले पहिलोपटक उदयपुरको चौदण्डी नगरपालिकामा उजुरी नै दर्ता गराएका थिए ।
राईको ठगी कार्यबाट आफू लामो समयदेखि पीडित भइरहेको व्याकुल माइलाले बताए । मिलन राईले कोसी प्रदेशका धेरै स्थानीय तह र विद्यालयहरूमा आफू व्याकुल माइला भन्दै ठूलो संख्मा पुस्तक बिक्री गरेको बुझिएको छ ।














प्रतिक्रिया