अभिनेत्री रेखा थापाको होम प्रोडक्सनमा निर्माण हुन लागेको नयाँ फिल्म ‘३६को आँकडा’ को पहिलो पोस्टर सार्वजनिक गरिएको छ।
पोस्टरमा रेखा थापा र पूजा शर्मा मुख्य भूमिकामा देखिएका छन्। प्रहरी अधिकृतको भूमिकामा प्रस्तुत भएकी रेखाले पूजालाई हत्कडी लगाएर नियन्त्रणमा लिएको दृश्य समेटिएको छ। रेखाको अनुहारमा संघर्षपछि प्राप्त विजयको भाव झल्किँदा पूजाको अनुहारमा अझै प्रतिरोध जारी रहेको संकेत पाइन्छ।
यो पोस्टरले नेपाली फिल्ममा प्रायः नदेखिने फरक दृश्य प्रस्तुत गरेको छ। विशेषगरी दुई महिला पात्रबीचको द्वन्द्वलाई केन्द्रमा राखिएको देखिन्छ, जुन सम्भवतः नेपाली फिल्म इतिहासमै पहिलोपटक पर्दामा उतारिन लागिएको हो। यसै कारण फिल्मले रोचक र फरक कथा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।
फ्लोरमा जानुअघि नै सार्वजनिक गरिएको यस फस्टलुकले दर्शकमाझ उत्सुकता थप्ने विश्वास गरिएको छ। आफ्ना-आफ्ना खालका भूमिकाबाट ‘लिडिङ लेडी’को पहिचान बनाएका रेखा र पूजाबीचको पर्दाको टक्कर दर्शकका लागि नयाँ अनुभव बन्ने देखिन्छ।
सबिर श्रेष्ठको निर्देशनमा सोमबारदेखि सुटिङ सुरु हुने यो फिल्ममा रेखासँग पछिल्लो समय चर्चामा रहेका महेश त्रिपाठी र पूजासँग अभिनेता पुष्प खड्काको जोडी बाँधिनेछ। निर्माण पक्षले अन्य कलाकार र प्राविधिक टिमबारे जानकारी भने सुटिङपछि सार्वजनिक गर्ने तयारी गरेको छ।














प्रतिक्रिया