अब एक घन्टाअघि नै यात्रु अध्यागमन पुग्नुपर्ने, अध्यागमनले अनावश्यक झन्झट नदिने


काठमाडौं – विदेश जाने यात्रुहरुलाई कम्तीमा एक घण्टा अगाडि नै विमानस्थलको अध्यागमन जाँचमा पुग्नुपर्ने भएको छ । भिजिट भिसा प्रकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन जाँचमा दबाब परेपछि अध्यागमन विभागले यस्तो व्यवस्था गरेको हो ।

विभागले आइतबार नयाँ व्यवस्था घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा महानिर्देशक रामचन्द्र तिवारीले अन्तिम समयमा यात्रुको चाप हुँदा कागजात परीक्षण गर्न पर्याप्त समय नहुने भन्दै कम्तीमा एक घण्टा अगाडि पुग्नुपर्ने व्यवस्था गरिएको जानकारी दिए ।

भ्रमणको कागजात बनाएर कीर्ते रुपमा कामदार विदेश पठाउन संगठित समूह लागिपरेको भन्दै सदनदेखि सडकसम्म आवाज उठिरहेका बेला अध्यागमनले कागजात परीक्षणका लागि यात्रुलाई एक घण्टाअघि नै अध्यागमन पुग्न सूचित गरेको हो ।

महानिर्देशक तिवारीका अनुसार रातिको समयमा खाडी मुलुक जाने यात्रुहरुको हकमा यो समस्या रहेकाले कडाइ गरिएको हो । खाडी मुलुक जानेहरु हतारमा अन्तिम समयमा अध्यागमन जाँच डेस्क पुग्ने गर्दा सुरक्षा अधिकारीलाई समेत कठिनाइ हुने गरेको उनको भनाइ छ ।

विभागले शुक्रबार विमानस्थलमा खटिने सबै एयरलाइन्स कम्पनीसहित सरोकारवाला निकायबीच छलफल गरेर यो निर्णय लिएको हो । विमानस्थलमा रातिको समयमा यात्रुको चाप रहने भएकाले नागरिक उड्डयान प्राधिकरणलाई उडानको तालिका समेत लचिलो बनाएर पछाडि सार्न आग्रह गरिएको भनिएको छ । विमानस्थल अध्यागमनका कर्मचारीको मिलेमतोमा संगठित गिरोहले नेपाली युवालाई असुली गरेर पठाएको विषयमा अख्तियारले छानबिन गरिरहेको छ ।

तत्कालीन विमानस्थल प्रमुख सहसचिव तीर्थराज भट्टराई यो मामिलामा पक्राउ परेपछि नेतृत्वमा नयाँ सहसचिव पठाइएको थियो । यद्यपि, भिजिट भिसामा असुली गरेर पठाउने क्रम नरोकिएपछि गृह मन्त्रालयले विमानस्थल अध्यागमनमा नरहरि घिमिरे र अध्यागमन महानिर्देशकमा तिवारीलाई पठाएको थियो ।

अध्यागमन विभागले वैदेशिक यात्रालाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन भन्दै ट्राभल एजेन्सी, कन्सल्टेन्सी, म्यानपावर कम्पनीदेखि एयरलाइन्ससम्मलाई लक्षित गरी सार्वजनिक अनुरोध गरेको छ ।

विभागले विमानस्थलमा हुने ‘सेटिङ’, नक्कली कागजातको प्रयोग र भिजिट भिसाको दुरूपयोग रोक्न कडा कदम चाल्ने जनाउ दिएको हो । अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी विदेश प्रस्थान गर्ने र नेपाल प्रवेश गर्ने यात्रुहरुलाई प्रदान गरिने सेवालाई थप सरल र सहज बनाउन सहयोग गर्न विभागले यात्रुसहित सात संस्थाहरुलाई अनुरोध गरेको छ । विभागले अबदेखि पर्यटक भिसामा विदेश जान चाहने नेपाली नागरिकप्रति हैसियतको आधारमा विभेदपूर्ण व्यवहार नगर्ने बताएको छ ।

विभागले ट्राभल्स, कन्सल्टेन्सी र म्यानपावर कम्पनीहरूलाई सचेत गराएको छ । पर्यटकीय भिसामा विदेश पठाउने प्रलोभन देखाउने, नक्कली कागजात बनाइदिने र दोहोरो टिकट काटेर यात्रुलाई अलपत्र पार्ने जस्ता कार्यमा संलग्न कम्पनीलाई तत्काल अनुसन्धान गरी कानूनी कारबाही गर्ने चेतावनी दिइएको छ ।

विमान कम्पनीहरूलाई पनि जिम्मेवार बन्न आग्रह गरिएको छ । ‘ओभर बुकिङ’ को नाममा यात्रुलाई हैरानी दिने र बोर्डिङ पास जारी गरेपछि पनि विभिन्न बहानामा उडानबाट वञ्चित गराउने प्रवृत्ति बढेको भन्दै त्यसो नगर्न सचेत गराइएको छ । कुनै यात्रुलाई ‘अफलोड’ गर्नुपरेमा त्यसको स्पष्ट र लिखित कारण दिनुपर्ने निर्देशनमा उल्लेख छ।