विराटनगर घटनाले एमाले नेतृत्व र पूर्वराष्ट्रपतिबीच शीतयुद्ध उत्कर्षमा


काठमाडौं – एमाले नेतृत्वको उर्दीका बाबजुद पनि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विराटनगरमा भव्य स्वागत र सम्मान पाइन् । उनलाई एमाले नेता कार्यकर्ताले पूर्वउपाध्यक्षकै हैसियतमा सम्मान गरेका छन् । त्यति मात्र होइन, दुईदिने विराटनगर बसाइमा कोशी प्रदेशका एमाले नेता कार्यकर्ताले भण्डारीसँग भेटघाट गरेपछि च्यासलमा हलचल मच्चिएको छ ।

भण्डारी सोमबार उद्घोष दैनिकको वार्षिकोत्सवमा सहभागी हुन विराटनगर पुगेकी थिइन् । उनलाई कोशी प्रदेशकी राज्यमन्त्री सिर्जना राई, एमाले कोशी सचिवकुमार भण्डारीसहितका नेता कार्यकर्ताहरूले भव्य स्वागत गरे ।

भण्डारीले केही पुराना कार्यकर्ताहरूसँग भेटघाट गरेकी थिइन् । उनले पुराना वामपन्थी नेता लव प्रधानको घरमा गएर भलाकुसारी गरिन् । उनलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले पनि भेटेका थिए । भण्डारीकै आग्रहमा मुख्यमन्त्री कार्कीले आधा घण्टा वन टु वन वार्ता गरेका थिए । मुख्यमन्त्री कार्कीले भण्डारीलाई भेटेको विषयलाई एमाले नेतृत्वले सिरियसली लिएको छ । प्रधानमन्त्री केपी ओलीले यसलाई इगोहर्टका रूपमा लिएका छन् ।

कार्कीले भण्डारीसँग छुट्टै भेटेपछि एमालेभित्र विवाद र आलोचना एकैसाथ सिर्जना भएको छ । भेटमा पूर्वराष्ट्रपतिले एमाले नेतृत्वले आफूलाई अपमान गरेको गुनासो गरेकी थिइन् । भेटको सुरुवातमै भण्डारीले प्रदेश सरकारको कामकारबाहीबारे चासो राखेको र आफूले संक्षिप्त जानकारी दिएको मुख्यमन्त्री कार्कीले बताएका छन् ।

भण्डारीले कुराकानीमा पार्टीले रोक लगाएको सम्बन्धमा आफूले कहिल्यै कल्पना नगरेको बताएकी छन् । भण्डारीले आफू जनताको सेवाबाट पछि नहट्ने सन्देश कार्कीमार्फत् नेतृत्वलाई अवगत गराएको बताइन्छ ।

एमालेले भण्डारीलाई पार्टीको राजनीति गर्न रोक लगाउँदै उनको सदस्यता खारेज गरेको छ । जसले गर्दा अहिले एमाले नेतृत्व र भण्डारीबीच शीतयुद्ध चर्किएको छ । भण्डारीले कसैले चाहँदैमा आफूलाई राजनीति गर्न रोक लगाउन नसक्ने चेतावनीसमेत दिएकी छन् । भण्डारीले विराटनगर जानुको कारण आगामी मुभबारे रणनीति बनाउनु रहेको स्रोतले बतायो ।