अमेरिकाले भारतमाथि थप कर लगाउने, रुसको तेलबाट धेरै कमाएको आरोप


काठमाडौं – अमेरिकाले भारतमाथि थप कर लगाउने संकेत गरेको छ । भारतले रुसबाट सस्तोमा तेल खरिद गरेर महँगोमा बेच्ने गरेको भन्दै अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले थप कर लगाउने संकेत गरेका हुन् । ट्रम्प प्रशासनले भारतमा कुल ५० प्रतिशत कर लगाएको बेला बसेन्टको यो टिप्पणी आएको हो ।

भारतमाथि लगाइएको करमा रुसी तेलको खरिदमा थप २५ प्रतिशत कर पनि समावेश छ, जुन २७ अगस्टदेखि लागू हुनेछ। चीन र भारतप्रति अमेरिकाको दोहोरो रवैयाबारे सोधिएको प्रश्नको जवाफमा बेसन्टले रुस–युक्रेन युद्धपछि रुसबाट चीनको तेल आयात ३ प्रतिशतले मात्र बढेको र भारतको आयात ४० प्रतिशतले बढेको बताएका छन् ।

‘भारतले नाफा मात्रै कमाईरहेको छ। यसबाट १६ अर्ब डलर थप नाफा कमाएको छ। भारतका केही धनी परिवारले यसबाट नाफा कमाएका छन् । भारतको यो व्यापार युद्धको सुरुवातदेखि नै चल्दै आएको छ । यो बिल्कुल अस्वीकार्य छ,’ उनले सीएनबीसीसँग भनेका छन् ।

भारतले अमेरिकाको कर लगाउने कदमलाई अनुचित भन्दै आफ्नो राष्ट्रिय हित र आर्थिक सुरक्षाका लागि आवश्यक सबै कदम चाल्ने बताएको छ । वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिनप्रसादले संसदमा भारत र अमेरिकाबीच व्यापार सम्झौताका विषयमा वार्ता भइरहेको बताएका छन् ।

दुवै देशले गैर–संवेदनशील कृषि उत्पादनलगायतका वस्तुको व्यापारलाई उदारीकरण गर्नेबारे छलफल गरिरहेका छन्। पीटीआईका अनुसार दुई देशबीच हालसम्म पाँच चरणको वार्ता भइसकेको छ, तर अमेरिकी टोलीले अगस्ट २५ देखि प्रस्तावित छैटौं चरणको वार्ता रोकेको छ ।

अमेरिकी ह्वाइट हाउसकी प्रेस सचिव कैरोलीन लीविटले मंगलबार राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि दबाब दिन भारतमाथि आर्थिक नाकाबन्दी लगाएको बताइसकेकी छन् ।