उपसभामुख रानामाथि लागेको मानव तस्करीको आरोप निन्दनीय भन्दै कड्कियो रास्वपा


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख इन्दिरा रानामगरमाथि लागेको मानव तस्करीको आरोपलाई निन्दनीय र कपोलकल्पित भनेको छ ।

उपसभामुख रानाले केही व्यक्तिलाई भिसा अन्तर्वार्ताको मिति सहज बनाउन दूतावासलाई पत्र लेखेको विषयमा आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै रास्वपाले यसमा कुनै आर्थिक लेनदेन वा मानव तस्करी जस्तो गम्भीर अपराध नभएको दाबी गरेको छ।

‘हालसम्म उपलब्ध तथ्य र प्रमाणले कतै पनि समाचारमा अतिरञ्जन गरिएजस्तो भिसा माग गरिएको वा आर्थिक लेनदेन भएको आधार देखिँदैन,’ रास्वपा प्रवक्ता मनिष झाले बुधबार जारी गरेको विज्ञप्तिमा छ ।

भिसा अन्तर्वार्ताको मिति सहज बनाउन मात्र अनुरोध गरिएको पत्रलाई पदीय मर्यादाविपरीत भएको भन्ने कोणबाट आएका टिप्पणीप्रति उपसभामुख स्वयंले ध्यानाकर्षण भएको बताइसकेको अवस्थामा ‘मानव तस्करी’ जस्तो गम्भीर आरोप लगाउनु निन्दनीय भएको पार्टीको ठहर छ।

रास्वपाले यो प्रकरणलाई राजनीतिक प्रतिशोधको रूपमा व्याख्या गरेको छ। पहिलेदेखि नै संसद् सचिवालय र अन्य उच्च पदाधिकारीलाई जानकारीमा रहेको विषयलाई अहिले बाहिर ल्याइनुमा ‘क्षणिक पदीय लेनदेनको हिसाब मिलाउने प्रयास’ भएको हुन सक्ने उसको आशंका छ।

रास्वपाले उपसभामुख रानालगायत अन्य नेताहरूबाट कूटनीतिक मर्यादाविपरीत कुनै गतिविधि भएरनभएको विषयमा अख्तियार प्राप्त निकायबाट हुने निष्पक्ष छानबिनका लागि पार्टी तयार रहेको स्पष्ट पारेको छ।