रवि भेट्न किन नख्खु जाँदैछन् प्रचण्ड ?


काठमाडौं । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाका प्रतिवादी रास्वपा सभापति रवि लामिछाने चैत २२ देखि कारागारमा छन् । १२६ दिन रुपन्देहीको भैरहवा कारागारमा बसेका रवि केही दिनमात्र नख्खु कारागार स्थानान्तरण भएका थिए ।

नख्खु आएलगत्तै रवि विरामी भएका छन् । उनलाई भिटामिन डीको कमी भएको चिकित्सकहरूले जनाएका छन् । राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सकले मंगलबार नख्खु कारागार पुगेर रविलाई आवश्यक चिकित्सकीय सल्लाह दिइसकेका छन् । रविलाई अहिले नख्खु कारागारको सी ब्लकमा चार सयभन्दा बढी कैदीबन्दीसँग राखिएको छ ।

रविलाई भैरहवा कारागारमा असुरक्षित ढंगले राखिएको भन्दै विभिन्न टीकाटिप्पणी भएको थियो । त्यसपछि कारागार विभागले उनलाई नख्खु सारेको हो । नख्खु आएको एक साता नबित्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रास्वपा सभापति रविलाई भेट्न नख्खु कारागार जाने भएका छन् । उनी बुधबार साँझ ६ बजे रविलाई भेट्न कारागार जाने तय भएको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

प्रचण्ड रास्वपा सभापति लामिछानेलाई राज्यले प्रतिशोध साँधेको भन्दै उनको पक्षमा उभिएका छन् । विपक्षी दलहरूको मोर्चाको नेतृत्व गरेका प्रचण्डले रविको स्वास्थ्य अवस्थाबारे जानकारी लिने बुझिएको छ । प्रचण्ड प्रधानमन्त्री भएका बेला रवि उपप्रधानसहित गृहमन्त्री थिए । प्रचण्डले आफू प्रधानमन्त्री हुँदा पनि रविको बचाउ गरिरहेका थिए । अहिले पनि बचाउमै छन् । ०८४ को निर्वाचनमा रास्वपासँग कार्यगत एकता गरेर जाने चाहना प्रचण्डमा छ । देश विदेशमा रास्वपाप्रति देखिएको लहरलाई क्याच गर्ने प्रचण्डको योजना छ । प्रधानमन्त्री केपी ओलीलाई तर्साउन पनि रवि लामिछानेलाई बोक्न प्रचण्ड रणनीति रहेको बताइन्छ ।