प्रधानमन्त्री ओली अझै अस्वस्थ, भएको के हो ?


काठमाडौँ – प्रधानमन्त्री केपी ओली अझै अस्वस्थ छन् । बुधबार बिहानदेखि अस्वस्थ भएका ओलीलाई चिकित्सकहरूले बिहीबार पनि आराम गर्न सल्लाह दिएका छन्। सोही कारण उनी सार्वजनिक कार्यक्रममा देखिएका छैनन् ।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार ओलीलाई बुधबार सामान्य ज्वरो आएपछि चिकित्सकहरुले आराम गर्न सल्लाह दिएका हुन्। चिकित्सकको सल्लाहअनुसार उनले औपचारिक कार्यक्रम स्थगित गरी बालुवाटार निवासमा आराम गरिरहेको सचिवालयले जनाएको छ।

‘प्रधानमन्त्रीज्यूको स्वास्थ्य अवस्था अहिले सामान्य छ। सामान्य ज्वरो आएको थियो। त्यो पनि अहिले ठीक भइसकेको छ, तैपनि चिकित्सकको सल्लाहअनुसार केही दिन आराम गर्नुहुन्छ,’ निजी सचिवालयले भनेको छ ।

प्रधानमन्त्री ओलीको बुधबार प्रतिनिधिसभामा सांसदहरूसँग प्रश्नोत्तर कार्यक्रम तय थियो । बिहान १० बजेसम्म उनी जाने भनिएको थियो । तर कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले प्रमुख सचेतक महेश बर्तौला विरामी भएकाले प्रधानमन्त्री आउन नसक्ने जानकारी गराएपछि कार्यसूचीबाट हटाइएको थियो ।