विपिन कार्की, केकी अधिकारी र गरिमा शर्मा मुख्य भूमिकामा रहने फिल्म “काजी”को शुभसाइत


काठमाडौं – लक्ष्मण रिजालको निर्देशनमा बन्न लागेको फिल्म ‘काजी’को शुभसाइत शुक्रबार दक्षिणकाली मन्दिरमा गरिएको छ। शुभसाइत सम्पन्न गरेर निर्माण टिम स्याङ्जा प्रस्थान गरेको छ, जहाँ भदौ ८ गतेदेखि फिल्मको छायांकन सुरु हुने निर्देशक रिजालले जानकारी दिएका छन्।

८ वर्षपछि निर्देशनमा फर्किएका रिजालले आफूले खोजेको कथा पाएपछि निर्देशन गर्ने निर्णय गरेको बताए। आर एण्ड आर प्रोडक्सनको व्यानरमा रामप्रसाद रिजालको लगानीमा बन्ने यस फिल्मका लागि स्याङ्जामा नै विशेष गाउँको सेट तयार गरिएको छ।

सामाजिक कथावस्तुमा निर्माण हुन लागेको फिल्ममा नायक विपिन कार्की शीर्ष भूमिकामा देखिँदैछन्। उनीसँगै केकी अधिकारी र गरिमा शर्मा प्रमुख भूमिकामा रहनेछन्।

फिल्ममा प्रदीप भारद्धाजको लेखन, चिन्तनराज भण्डारीको छायांकन (डीओपी) र कालीप्रसाद बाँस्कोटाको संगीत रहनेछ। फिल्मको वितरण श्रीराम बालाजी फिल्मस्का लागि सुनिल मानन्धरले गर्नेछन्।