काठमाडौं – चलचित्र “मालती मंगले”को कार्यशाला काठमाडौंमा जारी छ। भाद्र दोस्रो सातादेखि छायाङ्कन सुरु गर्ने तयारीमा रहेको यस चलचित्रको वर्कसप पटकथा तथा संवाद लेखक संयोग गुरागाईँको संयोजनमा सञ्चालन भइरहेको हो।
वर्कसपमा अभिनेता विजय बराल, अभिनेत्री वर्षा राउत, सुवर्ण थापा, मेक्सम गौडेल, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश जङ्ग ठकुरी, रिजन परियार, सागर भट्टराईलगायत कलाकारहरूको सहभागिता रहेको छ।
अभिनेता विजय बरालले वर्कसपले आफ्नो पात्र बुझ्न ठूलो मद्दत गरेको उल्लेख गर्दै भने, “चलचित्रले नेपाली समाजको वास्तविक कथा रोचक तरिकाले देखाउनेछ। दर्शकले आफ्नो कथा पर्दामा हेरेझैँ महसुस गर्नेछन्।”
त्यसैगरी अभिनेत्री वर्षा राउतले भने, “यो चलचित्र पारिवारिक भावनासँग जोडिएको छ। वर्कसपमार्फत पात्रको गहिराइमा पुग्ने अवसर पाइरहेकी छु।”
चलचित्रको निर्देशन प्रकु पाण्डेयले गर्नेछन्। कथा पनि पाण्डेयकै हो भने पटकथा र संवाद संयोग गुरागाईँले तयार पारेका हुन्। छायाङ्कन तनहुँ र स्याङ्जा जिल्लाका विभिन्न स्थानमा हुने जानकारी कार्यकारी निर्माता सागर ज्ञवालीले दिएका छन्।
रानी म्युजिक इन्टरनेशनल प्रा.लि.को ब्यानरमा र युनी इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुने यस चलचित्रका निर्माता लोकप्रिय गायक रामकृष्ण ढकाल हुन्। सह–निर्मातामा रविन श्रेष्ठ र बाबु सुवेदी छन्। प्राविधिक टोलीमा छायाङ्कन निर्देशक महेश पौडेल, सम्पादक रोमी तण्डुकार, रङ संयोजक कृष्ण भण्डारी, गीतकार राजेन्द्र थापा, आनन्द अधिकारी, गोपाल अधिकारी र सङ्गीतकार हरि लम्साल, राजनराज सिवाकोटी तथा उज्ज्वल सागर रहेका छन्।
निर्देशक पाण्डेयका अनुसार, ‘मालती मंगले’ पारिवारिक प्रेमकथामा आधारित चलचित्र हुनेछ।














प्रतिक्रिया