काठमान्डौ – उपसभामुख इन्दिरा राना दुई साता लामो अमेरिका भ्रमणमा छिन् । नेपालबाट सभामुख देवराज घिमिरेलाई बाहेक अरु कसैलाई जानकारी नदिई अमेरिका पुगेकी राना आइएनजिओको कार्यक्रममा सहभागी भएकी थिइन् । त्यहीबेला संसदमा उपसभामुखको भ्रमणबारे प्रश्न उठ्यो । त्यसपछि उनले आफ्नो गोप्य भ्रमणलाई राजनीतिक र उच्चस्तरको बनाउने प्रयास गरेकी छन् । उनले त्यहाँबाट पठाएका समाचार र फोटोले यही संकेत गर्छ ।
रानालाई मेरिल्याण्डका सिनेटर कार्ल ज्याक्सनले सम्मान गरेका छन्। नेतृत्वदायी भूमिका, मानवीय सेवा, लोकतन्त्र र अल्पसंख्यक समुदायको उत्थानका लागि प्रेरणादायी भूमिका खेलेको भन्दै सिनेटर ज्याक्सनले सम्मान गरेका हुन्। उनले जेलमा रहेका मानिसहरूका बच्चाहरूको सेवामा समर्पित उपसभामुख रानालाई सम्मान गर्न पाउँदा खुसी लागेको बताउँदै आगामी सामाजिक कामका लागि शुभकामना दिए।
कार्यक्रममा उपसभामुख रानाले लोकतन्त्र बहुमतको प्रणाली भए पनि अल्पसंख्यकलाई पनि समेटेर लैजानु राज्यको दायित्व भएको बताइन्। उनले विश्वमा मानवता, करूणाभाव जरूरी रहेको बताइन्।
यता नेपालमा भने रानाको संस्थाबाट पाँचजना बालबालिका गायब गरिएको घटनामा प्रहरीले अध्ययन सुरु गरेको छ। तत्कालीन अवस्थामा राना कार्यकारी प्रमुख भएको पीए नेपाल नामक गैरसरकारी संस्था अवैध रूपमा बालबालिका ओसारपसारमा संलग्न भएको भएको सूचना सार्वजनिक भएको थियो। यही संस्थाले बाल संगठनबाट जिम्मा लिएका पाँचजना बालबालिकालाई अवैध रूपमा ओसारपसार गरेको आरोप छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख एआईजी चन्द्रकुवेर खापुङले यस विषयमा अनुसन्धान भइरहेको जानकारी दिए।














प्रतिक्रिया