काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बेलाबेला रिसाएर बोल्ने व्यवहारका कारण चर्चामा आउँछन् । सीमित ठाउँमा होस् वा सार्वजनिक ठाउँमा देउवाले हपारेका धेरै भिडियो भाइरल भएका छन् । कतिसम्म भने उनले बोलेको भिडियो टेलिभिजन र सामाजिक सञ्जालमा भाइरल बन्दा उनी अप्ठेरोमा समेत परेका छन् ।
त्यसैमध्येको एउटा पुरानो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियो संघीयताको नक्शांकन गर्ने बेलाको हो । यो भिडियो एक दशकअघिको हो । जतिबेला नेपालमा संघीयता कार्यान्वयन हुन स्थानीय तहको विभाजन भइरहेको थियो ।
सार्वजनिक भिडियोमा पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवा बझाङका आठ दसजना जनतामाझ छन् । उनले फोनमा बसैलाई रिसाउँदै बोलिरहेका छन् । ‘कुरा सुन्नु न मेरो । आधा बझाङ छ काँडा त्यहीँ बनाउनुपर्छ । ११ त हुँदैन १२ बनाउन पर्यो’, उनले भनेका छन्, ‘तपाईंचाहिँ नमान्नुस् अरु जे सुकै गरुन् ।’ सभापति देउवाले ११ वटा पालिकाले हुँदैन १२ बनाउन पर्यो भन्दै निर्देशन दिएका छन् ।
देउवाले फोनमा आएको अन्य कुराको जवाफलाई पछि कुरा गरौंला भनेका छन् । ‘अहिले बझाङको काँडा गाविस छ, त्यसलाई गाउँपालिका बनाउने हो । होइन भने हुँदै हुँदैन त्यो । काँडा भनेको एक जिल्लाबराबर छ भूगोल । कुरा सुन्नुस न मेरो, पर्वत जिल्लाभन्दा तीन गुणा ठूलो छ, गाविस मात्र त्यहाँ ।’ देउवाले बोल्दा अरु चुपचाप सुनिरहेका छन् ।
देउवाको निर्देशनबमोजिम बझाङको काँडा गाविसलाई साइपाल गाउँपालिका बनाइएको छ । साविकको काँडा गाविसको कार्यालयलाई पालिकाको केन्द्र बनाइएको छ ।














प्रतिक्रिया