काठमाडौं । सोमबार बिहान एकाएक माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवको निवास पुगे । आफ्नो पूर्वनेता निवासमै आएकाले विप्लवले खुलेर स्वागत पनि गरे । पार्टीमा उपमहासचिव जनार्दन शर्माले दिएको चुनौतीले निकै अप्ठेरोमा परेका प्रचण्ड विप्लव निवास पुग्नुलाई धेरैले उनलाई पार्टीमा प्रवेश गराउन खोजेको बुझिहाले ।
प्रचण्डले पनि विप्लवसँग त्यही प्रस्ताव गरे । नेकपासँग एकता गरेर विप्लवलाई महासचिव बनाएर शर्मालाई देखाइदिने प्रचण्डको योजना थियो । तर विप्लवले प्रचण्डको प्रस्तावमा खासै इन्जोय गरेनन् । किनकि विप्लव र शर्माबीच पहिल्यैदेखि भेटघाट बाक्लिँदै गएको छ । जुन कुराको भेउ प्रचण्डले पाउनै सकेका थिएनन् ।

प्रचण्ड आफूलाई भेटेर फर्केपछि सोमबार नै विप्लव र शर्माबीच भेटवार्ता भएको थियो । विपक्षी राजनीतिक दलहरुको आन्दोलनलाई थप सशक्त बनाउन सोमबार साँझ माओवादी उपमहासचिव जनार्दन शर्माको निवास बखुण्डोलमा एकीकृत समाजवादीका महासचिव घनश्याम भुषाल र नेकपाका महासचिव विप्लवबीच झण्डै डेढ घण्टा कुराकानी भएको थियो ।
‘तीनजनाले आन्दोलनलाई नयाँ रुपमा कसरी उठाउने भन्ने सम्बन्धमा डेढ घण्टा छलफल गरेका छन् । विपक्षी पार्टीहरुलाई कसरी सशक्त बनाउने, नयाँ दलसँग कसरी प्रतिस्पर्धा गर्ने र युवा पुस्तामाझ पार्टीलाई लैजाने रणनीतिबारे छलफल भएको हो,’ स्रोतले भन्यो । एकातिर सत्तारुढ एमाले र नेपाली कांग्रेसको एकाधिकार र अर्कोतिर केही नयाँ दल तथा स्वतन्त्र मेयरहरुको भूमिकाका कारण नयाँ पुस्ता अन्योलमा रहेको भन्दै उनीहरु नयाँ रणनीति तर्जुमा गर्न छलफलमा जुटेको बताइन्छ ।
तर भित्री खेल भने अर्कै छ । केही समयअघिदेखि नै नयाँ दल बनाउने विषयमा शर्मा, भुसाल र विप्लवबीच सघन वार्ता जारी छ । अहिलेकै कम्युनिस्ट पार्टीबाट परिवर्तन र जनताको चाहना पूरा नहुने भन्दै उनीहरू नयाँ दल निर्माणमा लागेको चर्चा छ । त्यही कारण पनि जनार्दनले प्रचण्डलाई खुलेआम चुनौती दिइरहेका हुन् । भुसालले पनि अहिले माधवकुमार नेपाल र झलनाथ खनाललाई टेर्न छाडेका छन् ।














प्रतिक्रिया