नयाँ चलचित्र ‘कन्यादान’ बन्ने, विधवाको जीवनमा दोस्रो अवसरको कथा


काठमाडौं – ‘रङ्गेली’ निर्देशन गरेका र चाँडै प्रदर्शनमा आउन लागेको ‘सोल्टिनी’का निर्देशक अर्जुन सुवेदीले आफ्नो नयाँ चलचित्र ‘कन्यादान’ निर्माण गर्ने घोषणा गरेका छन्।

सामाजिक संवेदनशील विषयलाई केन्द्रमा राखेर बन्ने यस चलचित्रले विधवा महिलाको जीवन, उनीहरूले भोग्ने चुनौती र समाजका कठोर मान्यतालाई पर्दामा उतार्ने तयारी गरेको छ। निर्देशक सुवेदीका अनुसार चलचित्रको मूल सार “हरेक विधवाले दोस्रो अवसर पाउनुपर्छ” भन्ने सन्देशमा आधारित छ।

उनका अनुसार समाजका परम्परागत कडाइलाई चुनौती दिँदै विधवाले दोस्रो ‘कन्यादान’ प्राप्त गरी पुनः प्रेम र जीवन जिउने अधिकारलाई फिल्ममार्फत् प्रस्तुत गरिनेछ।

चलचित्रको कथा तथा पटकथा कुमार भट्टराई र अर्जुन सुवेदीले मिलेर लेखेका हुन्। आगामी वर्ष रिलिज गर्ने लक्ष्य लिइएको यस चलचित्रलाई प्लानेट थ्री फिल्म्सले निर्माण गर्नेछ भने सुभकाशा पिक्चर्स र ट्राइडेन्ट कन्सेप्ट सहकार्यमा रहनेछन्।

चलचित्रमा रेजिना बिस्ट प्रस्तुतकर्ता, मार्टिन ओली कार्यकारी निर्माता, सुसन प्रजापति छायाङ्कन निर्देशक, प्रशान्त सिवाकोटी संगीतकार, सुजन खतिवडा प्रोजेक्ट हेड, रोयल भीमसेन पोस्टर तथा पब्लिसिटी डिजाइनर, र ओएसआर डिजिटल डिजिटल वितरणकर्ताका रूपमा रहनेछन्।

यसअघि ‘कन्यादान’ शीर्षकमा चलचित्र बनेका भए पनि सुवेदीले निर्देशन गर्ने नयाँ संस्करण भने फरक कथामा आधारित हुनेछ।

घोषणासँगै सार्वजनिक गरिएको पोस्टर कन्सेप्च्युअल डिजाइनमा तयार पारिएको छ, जसमा देखाइएको महिलाको सांकेतिक तस्बिरले विधवाले भोग्ने मौन पीडा र पुनः जीवनप्रतिको चाहनालाई प्रतिबिम्बित गरेको छ।