काठमाडौं । जापान पुरानो दाता, ठूलो दाता, विकास सहयोगी र साझेदारी मात्र होइन, नेपाललाई अगाध स्नेह राख्ने मुलुक हो । जापानले कुनै कालखण्डमा नेपाललाई दिएको ऋण क्रमशः माफी÷मिनाहा गर्ने वा अनुदानमा परिणत गराउँदै लगेको देखिन्छ ।
आज झन्डै एक लाख जति नेपालीले निकै सम्मानपूर्वक जापानमा पढाइ र रोजगारी गर्दै महिनाको अर्बौ रेमिटान्स पनि पठाउँछन् । त्यति मात्र होइन, जापानले नेपालका धेरै पूर्वाधार आफ्नै लगानीमा बनाइदिएको छ । तर त्यस्तो मुलुकलाई अहिले प्रधानमन्त्री केपी ओली चिढ्याउन लागिपरेका छन् ।
प्रधानमन्त्री ओलीको एउटा देशविरुद्ध अर्को देशको सैन्य परेडमा सहभागी हुने कार्यतालिका सार्वजनिक भएपछि उनको भ्रमण विवादमा तानिएको हो । चीनले दोस्रो विश्वयुद्धमा जापानलाई हराएको अवसरमा १८ भदौमा आयोजित सैन्य परेडमा प्रधानमन्त्री ओली सहभागी हुँदै छन् । जापानसँग नेपालको सम्बन्धलाई ध्यानमा राख्दै राष्ट्रपति रामचन्द्र पौडेल कार्यक्रमिक भ्रमणमा नभएर राजकीय भ्रमणमा जाने इच्छा जनाएर पन्छिएका थिए । तर, नेपालको प्रमुख दातृ देश जापानसँगको सम्बन्धलाई प्रधानमन्त्री ओलीले ध्यान नदिएको जानकारहरूले टिप्पणी गरेका छन् ।
परराष्ट्र मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिअनुसार प्रधानमन्त्री ओली १५ भदौमा चीनको तियानजिन महानगरमा आयोजना हुने सांघाई को–अपरसेन अर्गनाइजेसन (एससिओ) मा सहभागी हुनेछन् । त्यसपछि १८ भदौमा बेइजिङमा सैन्य परेडमा सहभागी हुँदै छन् । ओलीलाई एससिओ सम्मेलनबाटै फर्केर आउन धेरैले सल्लाह दिएका छन् । तर उनले त्यसलाई मान्ने छनक देखाएका छैनन् । किनभने रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाका शासक किम जोन उन जस्ता निरंकुश शासकसँग फोटो खिचाउने रहर ओलीमा पलाएको देखिन्छ । सोही कारण राष्ट्रपति पौडेलले अस्वीकार गरेको भ्रमण ओलीले तुरुन्तै स्वीकार गरेका हुन् ।
जापानले अहिले विदेशमा रहेका आफ्ना दूतावासमार्फत सैन्य परेडमा सहभागी नहुन आफ्ना विकास साझेदार राष्ट्रहरूलाई आग्रह गर्दै आएको छ । नेपाललाई पनि जापानले यस्तै अनुरोध गरेको बताइन्छ । यदि भोलिका दिनमा जापानले नेपालको विकास साझेदारबाट हात झिकेमा ठूलो क्षति पुग्ने कूटनीतिज्ञहरूको बुझाई छ ।














प्रतिक्रिया