प्रधानमन्त्री ओलीले सि र पुटिन भेट्छु भने, तर मोदीबारे केही भनेनन्


काठमाडौं – प्रधानमन्त्री केपी ओलीले शनिबारदेखि हुने आफ्नो चीन भ्रमणबारे संसद्लाई जानकारी गराएका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले भदौ १५ र १६ गते उत्तरी चीनको तियान्जिनमा आयोजना हुने एससीओ सम्मेलनमा सहभागी हुन आफू त्यसतर्फ जान लागेको बताएका हुन् ।

भ्रमणका क्रममा चीनका राष्ट्रपति सी चिनफिङ, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र सहभागी अन्य मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमुखबीच दुई पक्षीय भेटवार्ता हुने जानकारी गराए । सम्मेलनको चिनियाँ राष्ट्रपति सीले उद्घाटन गर्दैछन् ।

सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि उपस्थित हुनेछन् । तर प्रधानमन्त्री ओलीले मोदीसँगको भेटबारे संसद्लाई कुनै जानकारी गराएनन् । मोदी अहिले जापान भ्रमणमा छन् । जापानबाटै उनी चीनका लागि प्रस्थान गर्ने भएका छन् । भारत र चीनबीच नेपाली भूमि लिपुलेक पासमार्फत द्विपक्षीय व्यापार गर्ने सहमति भएपछि नेपालमा त्यसको विरोध भइरहेको छ ।

शनिबार प्रधानमन्त्री ओलीसहितको प्रतिनिधिमण्डलको टोली चीन प्रस्थान गर्नेछन् भने १८ गते स्वदेश फिर्ता हुने कार्यतालिका छ ।