रिमै’को दोस्रो गीत ‘छुटिसकेको रिमै’ सार्वजनिक


काठमाडौं – आगामी भदौ २० गते शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको सिनेमा ‘रिमै’ ले दोस्रो गीत ‘छुटिसकेको रिमै’ सार्वजनिक गरेको छ। मंगलबार रिलिज गरिएको लिरिकल भिडियोमा थानेश्वर गौतम र शारदा रसाइलीको स्वर रहेको छ।

गीतमा थानेश्वर गौतमकै संगीत, श्रवण मुकारुङको शब्दरचना र नारायण दंगलको एरेञ्ज समावेश छ। सार्वजनिक भिडियोमा मुख्य कलाकार दयाहाङ राई र रिश्मा गुरुङका दृश्य प्रयोग गरिएको छ। यसअघि सार्वजनिक भएका गीत, पोस्टर, टिजर र ट्रेलरले नै राम्रो हाइप पाइसकेकोमा, यो नयाँ गीतले पनि दर्शकको उत्साह थप्ने अपेक्षा गरिएको छ।

गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस् प्रालीको प्रस्तुतिमा र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा बनेको यस चलचित्रमा दयाहाङ राई, अर्पण थापा, रिश्मा गुरुङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङसहित बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगरको पनि अभिनय रहेको छ।

कथा तथा पटकथा उपेन्द्र सुब्बाले लेखेका हुन् भने छायाङ्कन शैलेन्द्र ध्वज कार्कीले गरेका छन्। कार्यकारी निर्माता वीरवल घले हुन् भने टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता र बिनु गुरुङ, रोशन भट्टराई तथा राजेश घिमिरे सह–निर्मातामा छन्।

निर्देशन खिल बहादुर गुरुङको रहेको यस चलचित्रमा संगीत दीपक शर्मा र थानेश्वर गौतमले दिएका छन्। किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक, विष्णु मैनाली प्रोडक्सन म्यानेजर र मित्र डि गुरुङ सम्पादक हुन्। सिनेमा भदौ २० गतेदेखि देशव्यापी प्रदर्शनमा आउनेछ।