काठमाडौं – कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले एमालेसँग गठबन्धन गर्दाको सातबुँदे सहमतिको औचित्य सकिएको घोषणा गर्दै प्रधानमन्त्री केपी ओलीलाई मार्गप्रशस्त गर्न आग्रह गरेका छन् ।
थापा र शर्माले पार्टीका मन्त्रीहरूलाई फिर्ता बोलाएका छन् । दुवै महामन्त्रीले अहिलेको अवस्थाबाट निकास पाउन पाँच बुँदे रोडम्याप अगाडि सारेका छन् ।
थापा र शर्माले भनेका छन्, ‘सरकार सही ढंगले चलेन सच्चिनुपर्छ भनेर पार्टी बैठकमा, संसद्मा र सार्वजनिक स्थलमा पटकपटक आग्रह गर्यौं । तर न सरकार सच्चियो न प्रधानमन्त्रीको शैली । अन्ततः प्रधानमन्त्रीकै व्यवहारका कारण नागरिक पंक्तिमा असन्तुष्टि थप बढ्दै गयो । सामाजिक सञ्जाल खोल, भ्रष्टाचार नियन्त्रण गर, सुशासन कायम गर जस्ता न्यायोचित माग बोकेर सडकमा निक्लिएका जेनजी पुस्ता माथिको दमन निन्दनीय छ । तिनले कुनै कुर्सी मागेका थिएनन् । तर सरकारको अकर्मण्यताले होनहार युवाहरूले निर्मम मृत्यु वरण गर्नुपर्यो ।’
उनीहरूले पार्टी सभापति शेरबहादुर देउवालाई कांग्रेसका मन्त्री फिर्ता बोलाउन आग्रह गरेको बताएका छन् । ‘सात बुँदे समझदारीको औचित्य समाप्त भएको छ । सरकारबाट पार्टीका मन्त्रीहरू फिर्ता बोलाउन सभापतिज्युलाई भर्खरै आग्रह गरेका छौं । सभापतिज्युले अविलम्ब निर्णय गर्नुपर्छ, अन्यथा अन्य प्रक्रियाबाट निर्णय गरेर कदम चाल्न हामी बाध्य हुनेछौं,’ उनीहरूले भनेका छन् । थापा र शर्माले जेनजी प्रदर्शनकारीलाई पनि संयमित हुन आग्रह गरेका छन् ।














प्रतिक्रिया