जेनजी नेपालद्वारा कुलमानको नाम प्रधानमन्त्रीमा प्रस्ताव


काठमाडौं – जेन–जी नेपालले अन्तरिम मन्त्रिपरिषद्को नेतृत्वमा कुलमान घिसिङलाई प्रस्ताव गर्ने निर्णय गरेको छ । यो जेनजीको अर्को समूह हो ।

‘भ्रष्टाचारको अन्त्य, बेथिती नियन्त्रण र सुशासन कायम गर्ने आन्दोलन अभूतपूर्व सफलताको नजिक पुगेको छ र जेनजी समर्थित अन्तरिम मन्त्रिपरिषद् गठन भएसँगै यसको निष्कर्ष आउनेछ,’ विज्ञप्तिमा भनिएको छ ।

जेनजी नेपालका अनुसार प्रारम्भिक छलफलमा काठमाडौं महानगर प्रमुख बालेन्द्र साह बालेनलाई योग्य उम्मेदवार मानिएको भए पनि उनले यस प्रक्रियामा रुचि नदेखाएका कारण विकल्प खोजिएको हो । हर्क साम्पाङको नाममा पनि छलफल भए पनि सबैलाई नेतृत्व गर्ने सम्भावना न्यून देखिएको विज्ञप्तिमा उल्लेख छ ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाममा भर्चुअल छलफलमा समर्थन भए पनि संविधानअनुसार न्यायाधीशहरू यो पदका लागि योग्य नहुने र उमेर सीमा पार भएकाले उनको नाम अस्वीकृत गरिएको स्पष्ट गरिएको छ । यसपछि नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी प्रमुख घिसिङको नाममा सकारात्मक सहमति बनेको र उनलाई अन्तरिम मन्त्रिपरिषद्को नेतृत्वमा पठाउने निर्णय गरिएको जेनजी नेपालले जनाएको छ ।

जेनजी समूह दलैपिच्छे फरक फरक छन् । दुर्गा प्रसाई, माओवादी, रास्वपा, राप्रपा सबैका जेनजी समूह छन् । कुलमानको नाममा सबैले सहमति जनाए उनी अन्तरिम सरकारका प्रमुख बन्नेछन् ।