‘जारी २’ अब कात्तिक २१ गते रिलिज हुने


काठमाडौं – वर्षको प्रतिक्षित फिल्म ‘जारी २’ को प्रदर्शन मिति फेरि सारिएको छ। असोज ३ गते रिलिज गर्ने योजना जेन–जी आन्दोलनका कारण स्थगित भएपछि निर्माणपक्षले कात्तिक ६ गते भाइटिकाको दिन रिलिज गर्ने घोषणा गरेको थियो। तर, सो मिति पनि टिक्न सकेन।

निर्माता रामबाबु गुरुङले सबैसँगको सल्लाहपछि अन्ततः फिल्मलाई कात्तिक २१ गते रिलिज गर्ने निर्णय गरिएको बताए। यसअघि दुई पटक प्रदर्शन मिति परिवर्तन भइसकेको छ।

उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा बनेको यस फिल्ममा दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङलगायत कलाकारको अभिनय रहेको छ। ‘जारी २’ यस वर्षको सर्वाधिक प्रतिक्षित फिल्म मानिएको छ।