दयाहाङ राई र विजय बराल आमनेसामने, ‘वरिष्ठ बलराम’का पोस्टर सार्वजनिक


काठमाडौं – सुरेन्द्र पौडेलको निर्देशनमा तयार भएको फिल्म ‘वरिष्ठ बलराम’ का दुई नयाँ पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा नायक दयाहाङ राई र विजय बराललाई प्रमुख स्थान दिइएको छ।

पोस्टरमा दया र विजयबीचको भिडन्तलाई देखाइएको छ। दुवै कलाकार आक्रामक रुपमै प्रस्तुत भएका छन्, जसले दर्शकलाई यसपटक उनीहरूको फरक अवतारमा देख्ने अपेक्षा बढाएको छ।

फिल्ममा समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरीलगायतका कलाकारहरूको पनि अभिनय रहेको छ।

निर्देशक पौडेलकै कथा र सम्पादन रहेको यस फिल्ममा महेश दवाडीले पटकथा लेखेका छन्। वृषभ सिद्धि इन्टरटेनमेन्ट प्रस्तुतिमा तयार भएको ‘वरिष्ठ बलराम’ आन्भी फिल्म्स को सहकार्यमा बनेको हो।

फिल्मका निर्माता आशिष एच तामाङ र श्रीराज कार्की हुन्। मानकृष्ण महर्जनको छायांकन, प्रशान्त सिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन र प्रदीप लामाको नृत्य निर्देशन यसमा समावेश छ।

फिल्मलाई आगामी कात्तिक ६ गतेदेखि प्रदर्शनमा ल्याइने भएको छ।