‘परान’को पहिलो पोस्टरमा महेश–अञ्जना, कात्तिक १४ देखि पर्दामा


काठमाडौं – दीपकप्रसाद आचार्य ‘काकु’ निर्देशित फिल्म ‘परान’ ले प्रदर्शन मिति सार्वजनिक गरेको छ। पहिलो झलकसहित सार्वजनिक गरिएको पोस्टरमार्फत फिल्म आगामी कात्तिक १४ गतेदेखि रिलिज हुने घोषणा गरिएको हो।

पोस्टरमा महेश त्रिपाठी र अञ्जना बराइलीलाई फिचर गरिएको छ। तस्बिर हेर्दा फिल्ममा उनीहरूले जोडी बाँधेको स्पष्ट देखिन्छ। पोस्टरमा रहेको ‘सासले हैन, साथले चल्ने’ शब्दावलीले भौतिक जीवनभन्दा भावनात्मक साथ र सम्बन्धलाई बढी महत्त्व दिन खोजिएको बुझिन्छ।

व्यवसायिक घराना गोल्छा समूह र प्रिज्मा समूहको सहकार्यमा बनेको फिल्म बाइस्कोप सिनेमा प्रालि को ब्यानरमा निर्माण भएको हो। यसलाई ब्यानरको पहिलो प्रोजेक्टको रूपमा प्रस्तुत गरिएको जानकारी प्रबन्ध निर्देशक रन्जीत आचार्यले दिएका छन्।

फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई र आर्यादीप आचार्यलगायत कलाकारको अभिनय छ।

फिल्मको पटकथा तथा संवाद यम थापाले लेखेका हुन्। रिदम कँडेलको संगीतमा प्रमोद खरेल, पुष्पण प्रधान र रचना रिमालले स्वर दिएका छन्। शिवराम श्रेष्ठको छायांकन र मित्र गुरुङको सम्पादन यसमा समावेश छ।

निर्देशक आचार्यका अनुसार फिल्म अहिले पोस्ट–प्रोडक्सनको अन्तिम चरणमा पुगेको छ र अब प्रचार–प्रसारलाई तीव्र बनाइनेछ।