काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेनजी आन्दोलनपछि पार्टीमा निरन्तर पुस्तान्तरणका लागि दबाब बढाएपछि बुढापाका नेताहरू भयभित भएका छन् । आइतबार बिहान कांग्रेस प्रवक्ता प्रकाशशरण महतले पत्रकार सम्मेलन गरेर गगन र विश्वप्रकाश शर्मामाथि आक्रोश पोख्नुले उनीहरू कत्तिको भयभित देखिएका छन् भन्ने पुष्टि हुन्छ ।
जेनजी आन्दोलनपछि प्रमुख दलहरूको सान्दर्भिकता सकिएको विश्लेषण भइरहेका बेला गगन थापाले तत्काल सामाजिक सञ्जालमार्फत स्टाटस राखेर ड्यामेज कन्ट्रोल गरेका थिए । त्यसयता उनले निरन्तर भिडियो सन्देश राख्दै कांग्रेसलाई जार्गन गरिरहेका छन् । तर यही कुरा कांग्रेस सभापति देउवानिकट महतलगायतलाई मन नपरेको देखिएको छ ।
महामन्त्री थापाले तत्कालै कांग्रेसको नयाँ महाधिवेशन वा विशेष महाधिवेशनमा जानुपर्नेबाहेक अरू बाटो नभएको बताएका छन् । शनिबार जारी भिडियो सन्देशमा थापाले पार्टीको पुनर्गठन र रूपान्तरणका लागि आफू साधारण सदस्य मात्रै रहन पनि तयार रहेको उल्लेख गरेका छन् । पार्टी नेतृत्वले महाधिवेशनका लागि मार्गप्रशस्त गर्नुपर्ने पनि थापाले माग गरेका छन् ।
‘अब तत्कालै नियमित १५औँ महाधिवेशन वा विशेष महाधिवेशन गर्नेबाहेक हामीसँग अरू बाटो छैन,’ उनले भनेका छन्, ‘महाधिवेशनको दुईवटा बाटा छन् । पहिलो, नियमित १५औँ अधिवेशन । विषम परिस्थितिमा पुरानो क्रियाशील सदस्यता कायम राखेर दुई महिनाका लागि नयाँ क्रियाशील सदस्यता खोलिदिने । पार्टीको सदस्य बन्न चाहने सबैलाई स्वीकार गर्ने । विधानका सबै धारा निलम्बन गर्ने र पार्टीका सदस्यहरूबाट सीधा चुनाव लडेर पार्टीको नेतृत्व वा सभापति छान्ने । यो सबैका लागि सम्मानजनक बाटो हुन सक्छ ।’
नियमित महाधिवेशन नगर्ने अवस्थामा विशेष महाधिवेशनमा जानुपर्ने थापाको भनाइ छ । ‘पुरानै महाधिवेशन प्रतिनिधिहरूबाट विशेष महाधिवेशन गर्ने, त्यसले नेतृत्व मात्र होइन, पार्टीको नीति, नियम, पार्टीसँग जोडिएका प्रश्नहरूको उत्तर दिने, हाम्रा गल्ती छाड्ने, नयाँ संकल्प गर्ने मौका हुन्छ । यसका लागि पार्टी सभापति र हामी केन्द्रीय समितिले छोडिदिने । विशेष महाधिवेशन गर्ने, नयाँ नेतृत्व आउने बाटो खोलिदिने । योभन्दा अरू कुनै बाटो छैन ,’ उनले भनेका छन् ।
थापाले सभापति शेरबहादुर देउवा उपचाररत रहेको अवस्थामा नेतृत्वको विषय उठाएकोमा भएको आलोचनाको पनि जवाफ दिएका छन् । ‘हामी कोही पनि संवेदनाहीन छैनौँ । सभापतिको स्वास्थ्यबारे निरन्तर जानकारी लिइरहेका छौँ । अस्पतालमा भइरहेका वेला यो गरौँ भनेको होइन । सभापतिलाई सोधेर उहाँसँग सल्लाह गरेर गरौँ भनेको हो । अझ सभापतिलाई नै तपाईंले यो कदम चाल्नुहोस् भनेको हो,’ थापाले भने ।
सभापति देउवाले नमाने पनि पछि नहट्ने थापाले बताएका छन् । ‘मनाउने हो फकाउने हो, तर मान्नुभएन कोही फकिनुभएन भनेदेखि हात उठाउने होइन अगाडि बढ्ने हो । त्योबाहेक हामीसँग कुनै बाटो छैन,’ उनले भने, ‘कतिपय साथीहरूले आफ्नाबारेमा सोचेर यो भनिरहेको छ भन्नुभएको छ, यो होइन । पार्टी पुनर्गठन र रूपान्तरणको अभियानमा लाग्दै गर्दा जस्तोसुकै मूल्य चुकाउन म तयार छु । पार्टीको साधारण सदस्य मात्रै रहेर बस्न तयार छु, भुइँमा बस्न तयार छु ।’











प्रतिक्रिया