नारायणकाजी र जनार्दनसँगको रिसले प्रचण्डले गरे केन्द्रीय समिति नै विघटन


काठमाडौं । माओवादीले केन्द्रीय कमिटी विघटन गर्दै महाधिवेशनमा जाने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाडाँमा बुधबार बसेको स्थायी समिति बैठकले एकता र आवश्यकताका आधारमा केन्द्रीय कमिटी भंग गर्ने निर्णय गरेको हो ।

पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले नेतृत्व हस्तान्तरणको विषय जोडतोडले उठाएपछि प्रचण्डले केन्द्रीय कमिटी नै भंग गर्ने निर्णय गरेका हुन् । झन् यहीबेला जेनजी आन्दोलनले दबाब दिएपछि कोही पनि पदाधिकारी र केन्द्रीय सदस्य बन्न नसक्ने गरी प्रचण्डले निर्णय गराएका छन् ।

माओवादीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा विशेष महाधिवेशन आयोजक समिति गठन गर्ने भएको छ । प्रचण्डले विशेष महाधिवेशन आयोजक समितिको संयोजन गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

पार्टीभित्र एकता कायम गर्न र वर्तमान अवस्थाका आधारमा केन्द्रीय कमिटी भंग गर्न लागिएको उनको भनाइ छ । सापकोटाका अनुसार बैठकले विशेष महाधिवेशनको मिति तोक्न समेत केन्द्रीय कमिटीमा प्रस्ताव गर्नेछ ।

विशेष महाधिवेशन आयोजक समितिको संयोजकमा प्रचण्ड रहने निश्चित भएको दाबी गर्दै उपाध्यक्ष सापकोटाले यसमा कसैको फरक मत भए केन्द्रीय कमिटीमा राख्न सकिने बताए ।

यस्तै तोकिएको मितिमा नै निर्वाचन गर्न सरकारको ध्यानाकर्षण गर्ने र पार्टीको तर्फबाट यथासम्भव भूमिका खेल्ने निर्णय माओवादी स्थायी बैठकको छ ।