देश दशैंमा रमाइरहेका बेला प्रचण्ड र माधवले ‘चमत्कार’ गर्ने


काठमाडौं । जेनजी आन्दोलनका कारण देशमा राजनीतिक गतिरोध उत्पन्न भएको छ । प्रमुख दलहरू कसरी अगाडि बढ्ने भन्ने चिन्तन मननमा लागिरहेका छन् । आगामी फागुन २१ मा निर्वाचनको मिति तोकिएकाले कसरी फेस गर्ने भन्नेमा ठूला दलहरूले भित्रभित्रै गृहकार्य गरिरहेका छन् ।

यही मेसोमा नेपालीहरूको महान चाड बडादशैंले छपक्कै छोपेको छ । देश विस्तारै दशैंको माहोलमा प्रवेश भइरहेका बेला माओवादी, एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा र नेसपा भने एकताको तयारीमा जुटेका छन् । कुनै ठूलो दुर्घटना नभए दशैंकै बीचमा यी चार पार्टीबीच एकता भई नयाँ पार्टी घोषणा हुने नेताहरूको भनाइ छ । त्यसको पहलकदमी माओवादी अध्यक्ष प्रचण्डले लिएका छन् ।

अन्य दलहरू उठ्न नसकिरहेका बेला प्रचण्डले स्थायी कमिटी बैठक राखेर बिहीबारदेखि केन्द्रीय कमिटी बैठक राखेका छन् । केन्द्रीय कमिटी बैठकले माओवादीको केन्द्रीय कार्यसमिति विघटन गरी विशेष महाधिवेशनमा जाने निर्णय गर्नेछ । आगामी मंसिरभित्रै एकताको महाधिवेशन गर्ने तयारीमा उनी लागेका छन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी बैठकमै समाजवादी मोर्चाका घटकसँग पार्टी एकतासँगै देशभक्त र परिवर्तनका पक्षधरसँग बृहत् मोर्चा बनाउने प्रस्ताव गरेका छन् । बिहीबार बस्ने केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्न तयार राजनीतिक प्रतिवेदनमा उनले पार्टी एकता र बृहत् मोर्चाको प्रस्ताव गरेका हुन् ।

एकताको विषयमा समाजवादी मोर्चाका घटकहरूबिच पटक–पटक छलफलसमेत भइसकेको छ । मोर्चाका घटक एकीकृत समाजवादी, नेकपा र नेसपाले पनि विचार मिल्ने दलहरूसँग एकताका लागि पहल गर्ने निर्णय गरिसकेका छन् ।

माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले देशभक्त र परिवर्तनका पक्षधरसँग बृहत् मोर्चा बनाउन पनि पहल गर्ने समाजवादी मोर्चालाई एकतामा रूपान्तरण गर्न विशेष पहल गर्ने, विचार मिल्ने अन्य दलसँग पनि एकताका लागि पहल गर्ने भनेर बुधबार नै बताइसकेका छन् ।

एकीकृत समाजवादीको गत शुक्रबार बसेको सचिवालय बैठकले चुनौतीपूर्ण अवस्थामा कम्युनिस्ट आन्दोलन तथा राष्ट्रिय स्वाधीनता र जनक्रान्तिको उपलब्धिको रक्षाका लागि सम्पूर्ण कम्युनिस्ट, वामपन्थी, समाजवादी शक्ति र पार्टीहरूलाई एकताबद्ध भएर अगाडि बढ्न अपिल गरेको थियो ।

विप्लव नेतृत्वको नेकपाले पार्टी एकताको पहल गर्न प्रवक्ता खड्गबहादुर विश्वकर्माको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको छ । नेकपाको केन्द्रीय समिति बैठकले बनाएको समितिमा नेताहरू अनिल शर्मा र कर्णजित बुढाथोकी सदस्य छन् ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अहिलेकै अवस्थामा चुनावमा जान नसकिने भन्दै माओवादीसहितका दलहरुसँग एकता गर्ने मनस्थितिमा छन् । बाहिर खुलेर बोल्दा र छलफल चलाउँदा पार्टीका नेताहरू भड्किने डरले माधव नेपालले भित्रभित्रै प्रचण्डसँग एकताको गृहकार्य अन्तिम चरणमा पुर्याएको स्रोतले बतायो । त्यसैले यसपटक प्रचण्ड र माधव ‘चमत्कार’ गर्ने तयारीमा छन् ।