काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूले पार्टी अध्यक्ष छाडे पनि राजनीति नत्यागेको बताएका छन् । उनले बुधबार नेपाल समाजावदी पार्टी (नयाँ शक्ति) को अध्यक्ष पद छाडेको घोषणा गरेका थिए ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले आफू आन्दोलनबाट अलग नभएको बताए । ‘नाति पुस्ता’ले ढोका ढकढक्याइसकेकाले आफूले अध्यक्ष पद त्यागेको उनको भनाइ थियो । ‘म कुनै आन्दोलनबाट अलग भएको होइन । नयाँ शक्ति वैकल्पिक राजनीतिक अभियान, देशलाई कुनै विकल्प निर्माण गर्ने अभियानमा हिजो पनि थिएँ । आज पनि छु । निरन्तर रहनेछु,’ उनले भने ।
भट्टराईले अब नयाँ पुस्ताले नेतृत्व लिनुपर्ने बताए । ‘नैतिक हिसाबले पनि नवयुवाले ढोका ढकढक्याइसके । नाति, नातिनी पुस्ता अघि आइसके । अब उनीहरूलाई हामीले प्रोत्साहन गर्नुपर्छ । उनीहरूले नै देशको नेतृत्व गर्नुपर्छ भन्ने मान्यता राख्छु,’ उनले भने ।
पुराना दलका अध्यक्षमा नेतृत्व छाडेको घोषणा गर्ने बाबुराम पहिलो नेता हुन् । तर उनले नेतृत्व छाड्नु र राजनीति गर्नुको कुनै तुक भने छैन । उनको पार्टी अहिले खिइँदै खिइँदै गएको छ । जनतामा विश्वास छैन । छोरी मानुषी यमी भट्टराईलाई पार्टी अध्यक्ष बनाउने नयाँ शक्तिको तयारी छ । नयाँ शक्तिले दुर्गा सोवको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गरेको छ ।
वर्तमान सरकार आन्दोलनकारीप्रति प्रतिबद्ध हुनुपर्ने उनको भनाइ छ । उनले ‘जेनजी’ आन्दोलनमा मृत्यु भएकाका परिवारको मागप्रति ऐक्यबद्धता जनाए । जेनजी आन्दोलनका क्रममा घर जले पनि बाबुराम भने सार्वजनिक रूपमै क्रियाशील छन् । उनी प्रधानमन्त्री सुशीला कार्कीको सपथदेखि मन्त्रीहरूको सपथ समारोहमा समेत सहभागी भएका छन् ।











प्रतिक्रिया