मन्त्रिपरिषद् बैठक बस्दै, ओलीसहित केही नेताको पासपोर्ट रोक्काको निर्णय हुनसक्ने


काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार राष्ट्रको नाममा सम्बोधन गर्दैछिन्। साँझ ६ बजे उनले सम्बोधन गर्ने तय भएको छ ।

प्रधानमन्त्री भएपछि पहिलोपटक उनले सम्बोधन गर्न लागेकी हुन्। सम्बोधनअघि मन्त्रिपरिषद् बैठक बसेर केही महत्वपूर्ण निर्णयहरु गर्ने सम्भावना छ ।

कार्की नेतृत्वको सरकारले कांग्रेस, एमाले, माओवादीलगायत दलका केही शीर्ष नेताहरूको राहदानी रोक्का गर्ने प्रक्रिया अघि बढाएको छ ।

स्रोतका अनुसार पासपोर्ट रोक्काका लागि निवर्तमान प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखकको नाम पहिलो सूचीमा रहेको बुझिएको छ ।

यस्तै, आन्दोलनमा गोली चलाउन आदेश दिने काठमाडौंका सिडिओ छवि रिजालको पनि पासपोर्ट रोक्का गरिने बताइएको छ । रिजाललाई बुधबारमात्र गृह मन्त्रालयले सरुवा गरेको थियो । उनकै आदेशमा जेनजी आन्दोलनको पहिलो दिन भदौ २३ गते १९ जना मारिएका थिए ।

सरकारले गौरीबहादुर कार्कीको संयोजकत्वमा न्यायिक जाँचबुझ आयोग गठन गरेको छ । आयोगले बुधबारदेखि नै काम सुरु गरिसकेको छ । सोही कारण जेनजी आन्दोलन दमन गर्न निर्देशन दिने, भदौ २४ गतेको विध्वंशमा सामेल हुनेमाथि अनुसन्धान हुने भएको छ ।