शिक्षामन्त्रीको कुर्सीमा पुगेपछि महावीर पुनले भने– कुहिएका नेतालाई फालौं


काठमाडौं । शिक्षामन्त्री महावीर पुन प्रमुख दलका शीर्ष नेताप्रति आक्रोशित भएका छन् । उनले ठूला दलका नेताहरुलाई कुहिएका नेताको संज्ञा दिएका छन् ।

पुनले कुहिएका नेताहरू फालेर स्वच्छ युवा नेताहरूको अत्यधिक बहुमतको सरकार नबनाएसम्म ठुलो परिवर्तन सम्भव नभएको बताएका छन् । शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत उनले योग्य, नैतिकवान् र दृढ संकल्प भएको युवा जनप्रतिनिधिहरू छान्न कत्ति पनि झैझगडा नगरीकन संगठित रूपमा चुनावमा भाग लिने तयारीमा लाग्न पनि आह्वान गरेका छन् ।

‘भ्रष्टाचारलाई सकेसम्म कम गरेर सारा जनतालाई सुशासन दिने सरकार बनोस्, नेपाल आर्थिक रूपमा सम्पन्न बनोस्, विदेशीहरूले चलखेल गर्न नपाउन् र प्रत्यक्ष राष्ट्रपति चुन्ने व्यवस्था आवस भन्ने सपना देख्नु भएका सम्पूर्ण नेपालीहरूले योग्य, नैतिकवान् र दृढ संकल्प भएको युवा जनप्रतिनिधिहरू छान्न कत्ति पनि झैझगडा नगरीकन संगठित रूपमा चुनावमा भाग लिने तयारीमा तुरुन्त लाग्नु होस् भन्ने आह्वान गर्दछु,’ मन्त्री पुनले भनेका छन् ।

आगामी निर्वाचनमा ६५ लाखभन्दा बढी जेनजी मतदाता छन् । यदि ती मतदाताले सही विवेक प्रयोग गरेमा अहिलेका पुराना नेता जति सबैलाई चुनावमा बढारिदिन्छन् । त्यही भएर पनि मन्त्री पुनले राजनीतिक भाषा बोलेका हुन् । आमनिर्वाचनपछि बन्ने सरकारले मात्र संविधान संशोधन गर्नसक्ने भएकाले युवालाई बहुमत दिलाउनुपर्ने उनको धारणा छ ।