फिल्म ‘हर्ष’को पहिलो गीत ‘सिठ्ठी मार’ सार्वजनिक…(हेर्नुस् भिडियो)


काठमाडौं – मंसिर १२ गते प्रदर्शनमा आउन लागेको पारिवारिक ड्रामा फिल्म “हर्ष’ले आफ्नो पहिलो गीत ‘सिठ्ठी मार’ सार्वजनिक गरेको छ।

डेब्यू निर्देशक एकता पौडेल निर्देशित यस गीतमा प्रताप दास र सदिक्षा कट्टेलको स्वर, एलिस कार्कीको संगीत र पवित्रा घिमिरेको शब्द रहेको छ। सुनिल क्षेत्रीले कोरियोग्राफी गरेको गीत आलोक शुक्लाले खिचेका हुन्।

पारिवारिक जमघटको माहोलमा तयार भिडियोमा वर्षा राउत, खगेन्द्र लामिछाने, सन्तोष पन्त, विशाल पहारी, शर्मिला मल्ल, अंशु महर्जन, सुनिल क्षेत्री, माओत्से गुरुङ र लुनिभा तुलाधरलगायत कलाकार फिचर छन्। निर्माण पक्षले गीतलाई “नेपालीहरूको हरेक खुशीको जमघटमा बज्ने गीत” बन्ने दाबी गरेको छ।

प्रशन्न पौडेल र विकास पौडेल निर्मातामा तयार फिल्ममा खगेन्द्र लामिछाने, वर्षा राउत, सन्तोष पन्त, माओत्से गुरुङ, शर्मिला मल्ल, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, सुवर्ण थापा, श्रृष्टि महर्जन, श्रीजना नापित तथा बाल कलाकार साइमन वादीलगायतको अभिनय छ।

अष्टलक्ष्मी प्रोडक्सन्स र ई–प्राइम मुभिजको ब्यानरमा बनेको’हर्ष’को कथा निर्देशक पौडेल स्वयंले लेखेकी हुन्। दिवंगत निर्देशक शिव रेग्मीकी भाञ्जी भएकी पौडेलले यस फिल्ममार्फत रेग्मीको विरासतलाई निरन्तरता दिने अपेक्षा गरिएको छ। सम्पूर्ण छायांकन चितवनमा गरिएको फिल्म हाल पोस्ट–प्रोडक्सनमा छ।