गुलाम अलिको स्वरमा नेपाली गजल सार्वजनिक…(हेर्नुस् भिडियो)


काठमाडौंँ – विश्वप्रसिद्ध गजलकार गुलाम अली तथा उनका छोरा आमिर गुलाम अली खान र नाति नाजिर आमिर गुलाम अली खानको स्वरमा रहेको नेपाली गजल ‘उनकै गीत उनकै’ सार्वजनिक गरिएको छ।

मंगलबार साँझ कमलपोखरीस्थित बिग मुभिजमा आयोजित विशेष समारोहमा गीतको भिडियोसहित सार्वजनिक गरिएको हो। मनोज खड्काको शब्द तथा मिलन मोक्तानको संगीत रहेको गजललाई किरण खरेलले एरेन्ज गरेका हुन्।

भिडियोमा अन्तर्राष्ट्रिय मोडल दीपक घिमिरे र ‘मिसेस ब्युटी क्वीन नेपाल २०२५’ विजेता वर्षा कुँवर फिचर छन्। उनीहरूले रोमान्टिक जोडीको भूमिकामा अभिनय गरेका छन्।

गीतबारे संगीतकार मिलन मोक्तानले गुलाम अलि केही समयअघि नेपाल भ्रमणका क्रममा नेपाली श्रोता–दर्शकलाई विशेष रूपमा समर्पण गर्न यो गजल रेकर्ड गरिएको जानकारी दिए। गीतले प्रिय व्यक्तिप्रतिको गहिरो भावनात्मक अनुभूति प्रस्तुत गरेको छ।

मिलन मोक्तानकै निर्देशनमा तयार भिडियोमा सुवास लोकेन्द्रको छायांकन र अर्जुन खड्काको सम्पादन रहेको छ।