जेनजी आन्दोलनमा कुटाई खाएका देउवा फेरि सक्रिय बन्ने, सभापति नछाड्ने


काठमाडौं । जेनजी आन्दोलनका बेला सांघातिक आक्रमणमा परेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा फेरि राजनीतिमा सक्रिय हुने भएका छन् । हाल छाउनी अस्पतालमा उपचाररत उनले आफू राजनीतिमा सक्रिय हुने जनाउ दिएका हुन् । देउवाले उपसभापति पूर्णबहादुर खड्कासँग नियमित महाधिवेशनमा जाने भन्दै त्यहीअनुसार तयारी गर्न निर्देशन दिएका छन् ।

कांग्रेसमा विशेष महाधिवेशन र नेतृत्व हस्तान्तरणको बहस चलिरहेका बेला देउवाले केन्द्रीय समिति बैठक बोलाएका छन् । जेनजी आन्दोलनपछि कांग्रेसमा नेतृत्व परिवर्तनको आवाज तीव्र बनेको छ । शेखर कोइराला, गगन थापा, विश्वप्रकाश शर्मालगायतले विशेष महाधिवेशन गरेर नेतृत्व परिवर्तन गर्नुपर्ने माग राख्दै आएका छन् । यही बेला असोज २६ गतेका लागि केन्द्रीय समिति बैठक बोलाइएको हो ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार राति जारी गरेको विज्ञप्तिमा सभापति देउवा आफैं उपस्थित हुने गरी बैठक बोलाएको जनाइएको छ । तर संस्थापन पक्ष नियमित महाधिवेशनको पक्षमा छ । अहिले विशेष महाधिवेशन आह्वान गर्दा गगन–विश्वप्रकाश पुस्ताको हातमा नेतृत्व जान सक्ने भय देउवा निकट नेताहरूमा छ । सोही कारण उनीहरू नियमित महाधिवेशनको पक्षमा देखिएका छन् । हाल छाउनी अस्पतालमा उपचाररत देउवाले उपसभापति पूर्णबहादुर खड्कासँग नियमित महाधिवेशन हुने बताएका थिए । अब बस्ने केन्द्रीय समिति बैठकमा यस विषयमा गहन छलफल भई एउटा निर्णय आउने भएको छ ।

यसैबीच, कोजाग्रत पूर्णिमाका दिन पारेर कांग्रेसले हरेक वर्ष आयोजना गर्दै आएको चियापान कार्यक्रम यस वर्ष नगर्ने भएकोे छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव पौडेलले एक विज्ञप्ति जारी गरी चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना नहुने जानकारी दिएका हुन् ।

विसं २०३३ मा जननायक बिपी कोइराला निर्वासनबाट ‘राष्ट्रिय एकता तथा मेलमिलापको नीति’ लिई स्वदेश फर्केपछि हरेक वर्ष कांग्रेसले कोजाग्रत पूर्णिमाको दिन चियापान समारोह आयोजना गरी शुभकामना आदानप्रदान गर्दै आएको थियो ।

‘चाडवाडको समयमा समग्र मुलुकका नागरिक शोकमा डुबेको र हाम्रो पार्टीको केन्द्रीय कार्यालयसमेत आगजनी गरी ध्वस्त पारिएको अवस्थामा हामी देशभक्त नेपाली नागरिकबीच थप राष्ट्रिय एकता र मेलमिलापको आवश्यकता हुनुपर्छ,’ कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

आम नेपाली आमाबुबा दिदीबहिनी तथा दाजुभाइहरू अकल्पनीय शोकमा रहेकाले कोजाग्रत पूर्णिमाका दिन कांग्रेसले आयोजना गर्दै आएको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना नगर्ने कांग्रेसले जनाएको छ ।