काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको भन्दै तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न हामी नेपालका प्रमुख सुदन गुरुङसहितको टिमले सरकारमाथि दबाब बढाएका छन् । गुरुङ सोमबार साँझ दुवैलाई पक्राउको माग गर्दै जाहेरी लिएर काठमाडौं प्रहरी परिसर पुगेका थिए ।
तर प्रहरीले जाहेरी लिन ठाडै अस्वीकार गरिदियो । स्रोतका अनुसार सोमबार राति प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीले यस विषयमा छलफलसमेत गरेकी छन् । कार्कीले गृहमन्त्री ओमप्रकाश अर्याल र चारै सुरक्षा निकायका प्रमुखसँग यसबारे छलफल गरेकी हुन् ।
सरकार पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको आयोगले भदौ २३ २४ को आन्दोलनको छानबिन सकिएपछि सोहीअनुसार कारवाही गर्ने मनस्थितिमा रहे पनि दबाब बढ्दै गएपछि कानुनअनुसार कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा छलफल भएको बुझिएको छ ।
सुरक्षा निकायका प्रमुखले आयोगको प्रतिवेदनपछि सोहीअनुसार कारवाही अगाडि बढाउँदा कानुनसम्मत हुने सुझाव दिएको बुझिएको छ। सरकारलाई एकातिर जेनजी समूहको दबाब बढेको छ भने अर्कोतिर हालसम्म चुपचाप रहेका दल र उनीहरुका कार्यकर्ता आक्रोशित भएमा के गर्ने भन्नेसमेत छलफल भएको छ । काठमाडौं महानगर प्रमुख बालेन्द्र साह बालेनले प्रधानमन्त्री कार्कीलाई भेटेर ओली र लेखकलाई अहिलेसम्म किन पक्राउ नगरेको भन्दै दबाब दिएको बताइएको छ ।
बालेनकै निर्देशनअनुसार सुदन गुरुङले दबाब बढाएको स्रोतले बतायो । सरकारले असोज ५ गते मन्त्रिपरिषद् बैठकबाट भदौ २३ र २४ को जेनजी आन्दोलनमा भएको दमनको विषयमा छानबिन गर्न विशेष अदालतका पूर्वअध्यक्ष कार्की नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो र आयोगले अहिले काम गरिरहेको छ ।
आयोगलाई तीन महिनाको समय दिइएको छ । जेनजी आन्दोलनमा भएको दमन र विध्वंस घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगले भदौ २३ मा नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शनकारीमाथि भएको दमनमा केन्द्रित भई छानबिन र चरणबद्ध बयान अघि बढाउने भएको छ । प्रारम्भिक चरणमा गोली चलाउने प्रहरीको हुँदै माथिल्लो ओहदामा रहेका अधिकारीहरूको बयान लिने आयोगको तयारी छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगलाई तीन महिनाभत्र काम सक्ने जिम्मेवारी छ ।














प्रतिक्रिया