काठमाडौं – जेनजी आन्दोलनको एक महिनासम्म प्रायः चुपचाप देखिएका दलका नेता कार्यकर्ता विस्तारै फर्ममा आउन लागेका छन् । जेनजीको नाममा विध्वंश मच्चाएर सत्ता पलट गरेपछि बनेको सुशीला कार्की नेतृत्वको सरकार विदेशी र आइएनजिओको कठपुतली बनेको भन्दै खासगरी एमालेका युवा नेताहरू आक्रोशित भएका छन् । उनीहहरू सार्वजनिक रूपमै जेनजी अगुवाहरूको कार्यशैलीविरुद्ध खुलेर लागेका छन् ।
यसक्रममा अग्र मोर्चामा छन् एमाले पोलिटब्युरो नेता महेश बस्नेत । भदौ २४ गते जेनजी आन्दोलनका नाममा पार्टी र निजी सम्पत्ति जलाइएपछि आक्रोशित भएका बस्नेतले सुरुदेखि नै हल्ला बोल गर्दै आएका छन् । पार्टीका अन्य नेताहरू अर्धभूमिगत भएका बेला बस्नेतले पार्टी अध्यक्ष केपी ओलीलाई गुण्डुमा भाडाको घर खोजेर आफ्नै सुरक्षामा राख्दै आएका छन् । त्यहीँबाट ओलीले एमाले चलाउँदै आएका छन् ।
पछिल्लो केही दिनयता वर्तमान सरकार प्रतिशोध साँधेर राजनीतिक दल र तिनका नेतालाई कारबाही गर्न तम्सिएपछि बस्नेतले कडा प्रतिवाद गरेका छन् । उनले हेक्का राखेर कदम चाल्न सरकारलाई चेतावनी दिएका छन् ।
‘आफूलाई मन नपरेको व्यक्तिका घरहरूमाथि आक्रमण गर्ने र फरक विचार राख्ने व्यक्तिहरुलाई गिरफ्तार गर्ने भनेर सोसियल मिडियामा ट्रेन चलाउने, मिडिया ट्रायल गर्ने अनि प्रहरी प्रशासनमा डेलिगेसन गएको नाटक गर्ने सुदन गुरुङ, यसका मतियारहरु र यिनीहरूको निजी कम्पनी जस्तो बनेको गृह मन्त्रालयलाई प्रतिशोध साँधेर अनावश्यक हर्कत गर्यो भने ठूलो मूल्य चुकाउनुपर्नेछ। यो हेक्का राखेर कदम चाल्न हुन सरकारलाई भन्न चाहन्छु,’ बस्नेतले भनेका छन् ।
यस्तै, एमाले युवा नेता सुमन पुरीले अब चुप लागेर बस्ने दिन सकिएको भन्दै प्रतिकारमा उत्रिन तयार रहेको बताएका छन् । उनले यो देश कसैको बिर्ता नभएको भन्देै हिजो आन्दोलनका नाममा आगो लगाउनेलाई त्यत्तिकै नछाड्ने चेतावनी पनि दिएका छन् ।
‘हिजो आन्दोलनको नाममा आगो लगायौ, आज फेरि धम्की दिन्छौ— अब चुप लाग्ने दिन सकिएको छ।
हाम्रा घर, कार्यालय, नेतामाथि हात हाल्ने प्रयास भयो भने, प्रतिकार हरेक चोकमा देखिनेछ।
यो देश तिम्रो बाउको बिर्ता होइन,’ पुरीले भनेका छन् ।
बस्नेत र पुरीको यो चेतावनीले केही दिनमै जेनजी अभियन्ता र दलका नेता कार्यकर्ताबीच झडप हुने सम्भावना देखिएको छ ।














प्रतिक्रिया