साइबर ब्युरो पुगे एमाले नेता महेश बस्नेत, लिखित बयान दिँदै


काठमाडौं – एमालेका नेता महेश बस्नेतले नेपाल प्रहरीको साइबर ब्युरोमा पुगेर लिखित बयान दिएका छन् । उनीविरुद्ध एक महिलाले दुर्व्यवहार गरेको आरोपसहित उजुरी दिएकी थिइन् । सोही उजुरीको विषयमा आज ब्युरोको कार्यालय पुगेर बयान दिएका हुन् ।

बस्नेतले बिहान १० बजे कार्यालय पुगेर बयान दिएको सूचना अधिकारी एसपी दीपकराज अवस्थीले जानकारी दिए । पहिले प्रहरीले जाहेरी रीतपूर्वक नआएको भन्दै लिन मानेको थिएन । तर सरकारी वकिलको कार्यालयले अनुसन्धान गर्न पठाएपछि अनुसन्धान प्रक्रिया अघि बढेको हो ।

प्रहरी स्रोतका अनुसार, अनुसन्धान अधिकृतहरूले बोलाएपछि बस्नेत बुधबार बिहान १० बजे नै भोटाहिटीस्थित ब्युरोमा पुगेका थिए । प्रहरीले काठमाडौं जिल्ला अदालतसँग बस्नेतलाई पक्राउको पुर्जी मागेको थियो । तर अदालतले प्रमाण नपुगेको भन्दै थप प्रमाण पेस गर्न आदेश सुनाएको थियो ।