गगन–विश्वप्रकाश ढुक्क थिए नयाँ निर्णयमा, तर अन्तिम समयमा देउवाले बनाए निराश


काठमाडौं – नेपाली कांग्रेसभित्र नयाँ सुरुवातको संकेतका रूपमा हेरिएको बिहीबारको पदाधिकारी बैठक सभापति शेरबहादुर देउवाको अनुपस्थितिका कारण निराशामा परिणत भएको छ।

महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा बैठकबाट केही नयाँ निर्णय आउनेमा ढुक्क थिए। तर अन्तिम समयमा देउवा नजाने भएपछि नेतृत्व सुधार र पार्टीभित्र नयाँ धारको अपेक्षा मथ्थर बनेको छ।

सभापति देउवाले असोज २६ गते बस्ने केन्द्रीय समिति बैठकको तयारीका लागि आज दिउँसो १ बजेका लागि पदाधिकारी बैठक बोलाएका थिए। तर उनका स्वकीय सचिव भानु देउवाले देउवा बैठकमा नजाने जानकारी दिएका हुन्।

अब बैठक उपसभापति पूर्णबहादुर खड्काले सञ्चालन गर्ने भएका छन्। भदौ २३ र २४ गतेको ‘जेनजी आन्दोलन’पछि पहिलोपटक देउवा पार्टी बैठकमा सहभागी हुने अपेक्षा गरिएको थियो।