फागुन २१ को चुनाव नहुने संशय बढेका बेला आफैं अघि सरे राष्ट्रपति पौडेल


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ मा तोकिएको निर्वाचनका विषयमा प्रधानमन्त्री सुशीला कार्की, सरकारका मन्त्रीहरू र राजनीतिक दलसँग शुक्रबार छलफल गर्ने भएका छन् ।

शुक्रबार अपराह्न ४ बजे राष्ट्रपति पौडेलले सरकार र सबै राजनीतिक दलहरूसँग निर्वाचनबारे छलफल गर्न लागेका हुन् ।

निर्वाचन मिति फागुन २१ गते तय भइसके पनि सरकार संवादमा नउत्रिएको भन्दै दलहरूले प्रश्न उठाइरहेका छन्। बिहीबार प्रधानमन्त्री कार्कीले राष्ट्रपति पौडेलसँग भेट गरेर दलहरूसँग संवाद गर्न आग्रह गरेका थिए । त्यसको आधारमा राष्ट्रपतिले आजको छलफलमा सरकार र विघटित प्रतिनिधिसभाका दलहरूलाई बोलाएका छन् ।

छलफलमा दलका दोस्रो तहका नेताहरू सहभागी हुने बुझिएको छ । बिहीबार एमाले अध्यक्ष केपी ओलीले फागुन २१ को चुनावमा सहभागी नहुने घोषणा मात्रै गरेनन्, संसद् पुनःस्थापना गर्न आन्दोलन गर्ने घोषणा गरेपछि समस्या झन् बढ्ने अनुमान गरिएको छ । एमालेले संसद् पुनःस्थापनाको माग गर्दै अदालत जाने तयारीसमेत गरेको छ ।

राष्ट्रपति पौडेलले आफ्नो अधिकार प्रयोग गर्दै प्रतिनिधिसभा विघटन गरी फागुन २१ मा आमनिर्वाचन गराउन वर्तमान सरकारलाई म्यान्डेट दिएका थिए । तर अन्तरिम सरकारकी प्रधानमन्त्री कार्की प्रमुख दलहरूप्रति धेरै अनुदार बनेपछि परिस्थिति बिग्रिँदै गएको छ । त्यसैले राष्ट्रपति पौडेल आफैं दलहरूसँग संवाद गर्न अघि बढेका हुन् ।

बुधबार मात्रै कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा शीतल निवास पुगेर राष्ट्रपति पौडेललाई भेटेर चुनावबारे संवाद थाल्न आग्रह गरेका थिए ।