अनमोल केसी बिना नै ‘जेरी : अन टप’ ट्रेलर सार्वजनिक, जसितासँगको प्रेम सगरमाथाको उचाइमा


काठमाडौं – अनमोल केसी अभिनीत प्रतीक्षित चलचित्र ‘जेरी : अन टप’ को ट्रेलर शुक्रबार काठमाडौंको लबिम मलमा एक विशेष समारोहबीच सार्वजनिक गरिएको छ।

कार्यक्रममा भुवन केसी, उषा खड्गी, जसिता गुरुङ, आँचल शर्मा, निर्देशक सुयोग गुरुङ र निर्माता टिमको उपस्थिति थियो।
तर मुख्य कलाकार अनमोल केसी स्वास्थ्य समस्याका कारण सहभागी हुन सकेनन्।

३ मिनेट ४० सेकेन्डको ट्रेलरमा सगरमाथा आरोहणको रोमाञ्चक दृश्यसँगै रोम्यान्स, भावनात्मक संघर्ष र जीवन–मृत्युको यात्रा एकसाथ देख्न सकिन्छ।
सगरमाथा क्षेत्र, मुस्ताङ र काठमाडौंमा खिचिएका दृश्यहरूले फिल्मलाई भिजुअल्ली एकदमै पावरफुल बनाएका छन्।

फिल्ममा अनमोलले बुबा भुवन केसीलाई जित्ने लक्ष्यसहित हिमालतर्फको साहसिक यात्रा तय गरेका छन्।
त्यही यात्रामा प्रेम, धोका, आँसु र सपनाको संघर्ष मिसिएको छ – जसले फिल्मलाई अझ भावनात्मक बनाएको छ।

फिल्मको कथा–पटकथा हेमराज बीसीले लेखेका हुन् भने सरोज न्यौपानेको प्रस्तुतिमा रोबिन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारी निर्माता रहेका छन्। निर्देशक सुयोग गुरुङले यसअघि ‘फर्की फर्की’ मा देखाएको भिजुअल स्टाइललाई यसपटक अझै उचाइमा पुर्‍याएका छन्।

‘जेरी : अन टप’ तिहार छेकोमा (३१ असोज / १७ अक्टोबर) देशभर प्रदर्शनमा आउने तयारीमा छ। पहिले सार्वजनिक टिजरले नै दर्शकको मन जितिसकेको यो फिल्मको ट्रेलरले दर्शक मन जित्नेमा निर्माण टिम विश्वस्त छ ।