गगनलाई रोक्ने हर्कतमा लागेपछि सिटौलाको बिदाइको कामना गर्दै कांग्रेसी


काठमाडौं । कांग्रेस नेता कृष्णप्रसाद सिटौला यतिबेला एकाएक महामन्त्री गगन थापाविरुद्ध क्रियाशील हुन थालेका छन् । जेनजी आन्दोलनले कांग्रेससहित प्रमुख दलका बुढा नेताको अवकाश माग गरेपछि तिल्मिलाएका सिटौला कसरी हुन्छ युवाको हातमा कांग्रेसको बागडोर नपरोस् भनेर लागिपरेका छन् । कतिसम्म भने उनले अहिले कांग्रेसमा शेरबहादुर देउवाको विकल्प नभएकोसमेत भन्न भ्याइसकेका छन् ।

जबकि कांग्रेस विधानअनुसार देउवा तेस्रो कार्यकालका लागि सभापतिमा उठ्न पाउँदैनन् । जेनजी आन्दोलनमा सांघातिक अक्रमणबाट बँचेका देउवा आफैं ग्रेसफुल एक्जिटको खोजीमा छन् । तर सिटौलालगायतको एउटा झुन्ड कसरी हुन्छ कांग्रेसमा गगन, विश्वप्रकाश शर्मालगायतका नेता नेतृत्वमा पुगेको देख्न चाहँदैनन् । यसमा सिटौलासहित प्रकाशमान सिंह, विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, प्रकाशशरण महतलगायत छन् । जनमानस यी सबै नेताको कांग्रेसबाट बिदाइ होस् भनेर चाहिरहेका छन् ।

विज्ञान र कानूनमा स्नातक गरेका सिटौलालाई कांग्रेसवृतमा कुटिल र रहस्यमयी नेताको रुपमा चित्रण गरिन्छ । उनी एकाएक २०४८ सालको संसदीय निर्वाचनमा देखापरे । ०३३ सालदेखि नै कांग्रेसको सक्रिय राजनीति रहेको बताइए पनि उनको सक्रियताका विषयमा पटक(पटक प्रश्‍नहरु नउठेको होइन । बहुदल स्थापनापछि २०४८ मा भएको पहिलो संसदीय चुनावमा सिटौला झापाको क्षेत्र नम्बर १ मा एमालेका द्रोणप्रसाद आचार्यसँग पराजित भए ।

तर, आचार्यको असामयिक निधन भएपछि झापा ०५० सालमा मध्यावधि चुनाव भयो, जसमा सिटौलाले एमालेका लीला उदासी खनाललाई हराए र सांसद भए । गिरिजाप्रसाद कोइराला नेतृत्वकै सरकारले गराएको उपनिर्वाचन जिते पनि २०५१ को मध्यावधिमा सिटौला फेरि एमालेका पुष्प पोखरेलसँग पराजित भए । २०५६ को चुनाव भने त्यही क्षेत्रबाट सिटौलाले जिते । अर्थात् एउटा चुनाव हार्ने र अर्को जित्ने संयोगमा सिटौला २०६४ मा गृहमन्त्री हुँदा पनि जित्न सकेनन् ।

२०७० को दोस्रो संविधानसभा चुनावमा राप्रपाका राजेन्द्र लिङ्देनलाई हराए । त्यही संविधानसभाले ३ असोज २०७२ मा संविधान जारी गर्‍यो । तर २०७४ को चुनावमा सिटौला फेरि लिङ्देनसँगै पराजित भए । २०७९ मंसिरमा सिटौला फेरि राप्रपा अध्यक्ष लिङ्देनसँग पराजित भए ।

सिटौलाले जित्दा पनि अवसर पाइरहे भने हार्दा पनि अवसर गुमाउनु परेन् । कारण उनी जहिले पार्टी सत्ताको निकट र विश्‍वासपात्रका रुपमा रहे । २०५६ सालको चुनावमा जितेपछि सिटौलालाई ०५७ साल माघमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीको जिम्मेवारी दिइयो ।

शाहीकालमा कांग्रेसका तत्कालीन सहमहामन्त्री गोविन्दराज जोशीविरुद्ध अख्तियारले भ्रष्टाचारको मुद्दा चलाएपछि सिटौलाले यसलाई अवसरको रुपमा उपयोग गरे । जोशी कमजोर भएको मौकामा सिटौलाले गिरिजाप्रसादको विश्वास जिते । जो उनका लागि टर्निङ पोइन्ट बन्यो । यसपछि सिटौला लगातार कोइरालासँगै रहे ।

गिरिजाको सारथी बनेर सिटौलाले नै प्रचण्ड र बाबुराम भट्टराईलाई ०६३ साल असारमा काठमाडौं भित्र्याए । त्यसअघि नै ०६३ साल वैशाख १९ गते गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा गठन भएको सरकारमा सिटौला गृहमन्त्री थिए । र, उनी गृहमन्त्री भएकै बेला नेपाल प्रहरीमा सुडान घोटाला प्रकरण भयो । पार्टीको १२ औं महाधिवेशनले पार्टीभित्र र बाहिरसमेत भ्रष्टाचार हटाउन विशेष पहल थाल्ने नीति लिएको बताउँदै उनीहरूले राष्ट्रलाई बदनाम बनाउने गरी भएको सुडान घोटाला प्रकरणमा महामन्त्री सिटौलाको मुख्य संलग्नता रहेको आरोप लागेको थियो ।

प्रचण्ड र बाबुरामलाई सिकलेसबाट काठमाडौं ल्याउँदा उनलाई सवारी मन्त्री बनेको आरोपसमेत लाग्यो । १२औं महाधिवेशनमा सुशील कोइरालाको विश्‍वासपात्र बनेका सिटौलाले टीम व्यवस्थापको काम गरे । जसको फलस्वरुप उनी पार्टी महामन्त्रीमा मनोनीत भए । २०४८ सालयता मुलुकमा सात संसदीय चुनाव हुँदा आठपटक उम्मेदवार भएर सिटौला पाँचपटक पराजित भए ।

पटकपटक नेताको आशीर्वाद प्राप्त गरिरहने सिटौला फेरि पार्टीको १५औं महाधिवेशनको पूर्वसन्ध्यामा समकालीन नेताहरुलाई साथमा लिएर देउवाको दैलो धाइरहेका छन् । यसपटक देउवा पार्टी सभापतिमा नदोहोरिने निश्‍चित भएपछि नेताहरुलाई मिलाएर सभापति बन्‍ने मौका हेरिरहेका छन् । विगतमा आफ्नो प्यानलबाट महामन्त्रीमा उठेरका गगन थापाले आफ्नो क्याम्प छाडेपछि सिटौला उनको पछि हात धोएर लागिपरेको कांग्रेसीलाई चित्तबुझेको छैन ।